एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा, सीताको अलराउन्ड प्रदर्शन

कुवेतलाई डकवर्थ लेविस पद्धति (डीएलएस)मा ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ।

तस्वीर : क्यान

काठमाडौँ– सीता रानामगरले अलराउन्ड प्रदर्शन गरेसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।

बुधबार सम्पन्न क्वार्टरफाइनलमा कुवेतलाई डकवर्थ लेविस पद्धति (डीएलएस)मा ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालले फाइनल प्रवेशका लागि अब आयोजक मलेसियासँग खेल्ने छ। बुधबार नै सम्पन्न खेलमा मलेसियाले जापानलाई १६ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।

कुवेतले ७३ रन बनाए पनि दोस्रो इनिङ्समा खेललाई वर्षाले प्रभावित परेपछि नेपालले १२ ओभरमा ५० रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालकी ओपनर कविता कुँवर पहिलो ओभरको अन्तिम बलमा रन आउट भएकी थिइन्। उनले १ रन बनाइन्।

यद्यपि, त्यसपछि क्रिजमा आएकी सीता रानामगरले अर्कफ ओपनर इन्दु बर्मासँग दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्‍याए।

सीता सातौँ ओभरको चौथो बलमा कभर प्वाइन्टमा खाँदिजा खलिलबाट १७ रनमा क्याच आउट भइन्। उनले १५ बलमा २ चौकासहित १७ रन बनाइन्।

कप्तान इन्दु २२ र कविता जैशी ४ रनमा अविजित रहिन्। कुवेतकी मार्यम उमरले १ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनायो।

कुवेतकी ओपनर प्रियाद मुरलीले सर्वाधिक २९ रन बनाइन्। उनले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।  यस्तै, लासुब्रमनियन शान्ति र खाँदिजा खलिलले १३/१३ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन्।

नेपालकी सीता रानामगरले ३ विकेट लिँदा रुविना क्षेत्री बेलबासे र कविता कुँवरको नाममा २/२ विकेट रह्यो।