एपीएफ अस्पतालमा ‘अन्कोलोजी युनिट’ स्थापना

महानिरीक्षक अर्यालले एपीएफ अस्पतालमा कार्यरत कर्मचारीलाई सिप र प्रविधिको नवीनतम विकासलाई आत्मसात् गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई लाग्न निर्देशन दिएका छन्।

काठमाडौँ– बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा अन्कोलोजी युनिटको स्थापना भएको छ। पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतिमा स्थापना गरिएको ‘सहवीर थापा अन्कोलोजी युनिट’को अस्पतालको २२औँ वार्षिकोत्सवका अवसरमा बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष श्रीमती कल्पना थापाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा महानिरीक्षक अर्यालले एपीएफ अस्पतालमा कार्यरत कर्मचारीलाई सिप र प्रविधिको नवीनतम विकासलाई आत्मसात् गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई लाग्न निर्देशन दिएको सशस्त्र प्रहरी सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापा जानकारी दिए। उनका अनुसार अस्पतालमा सेवा लिन आउने सर्वसाधारण तथा विपन्न वर्गका परिवारका लागि सरकारबाट उपलब्ध हुने सम्पूर्ण उपचारका सेवा प्रदान गर्न सदैव अग्रसर रहनुपर्ने महानिरीक्षक अर्यालले भनाइ राखेका थिए।

अस्पतालका कर्मचारीमा ‘म होइन हामी भन्ने मान्यता लिई, मालिक होइन सेवक हुँ भन्ने भावनासाथ’ कर्तव्य पथमा लागिरहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले भने, “शरीरमा लागेको रोगको निदान औषधि उपचारबाट सम्भव होला तर सामूहिक एकतामा व्यक्तिगत स्वार्थ र विचलनको संक्रमण भयो भने त्यो रोगको न कुनै उपचार हुन्छ न त निदान गर्ने सक्ने औषधि नै हुन्छ।”

सशस्त्र प्रहरी सहप्रवक्ता, डीएसपी थापाका अनुसार अन्कोलोजी युनिट सञ्चालनका लागि स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल र उनको परिवारको तर्फबाट पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो। साथै, बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीले समेत सहयोग रकम प्रदान गरेका थिए।

सो अवसरमा महानिरीक्षक अर्यालले अस्पतालमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका थिए। बुधबार आयोजित कार्यक्रममा उनले अस्पतालमा कार्यरत रही उच्च पेसागत दक्षता प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन, अस्पताललाई सहयोग पुर्‍याउँदै आएका विभिन्न संघसंस्था तथा व्यक्तित्वलाई सम्मानसमेत गरेका थिए। सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालको विविध गतिविधि समेटेर तयार पारिएको ‘अस्पताल प्रतिबिम्ब २०८०’को विमोचनसमेत गरेका थिए।