बिहीबारदेखि मौसममा सुधार आउने

अहिले संघीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ। मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटपुट वर्षा भएको छ।

काठमाडौँ– पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए। 

उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वी भेगतिर सरिरहेकाले बुधबार रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानांगले जानकारी दिए।

अहिले संघीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ। उनका अनुसार मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटपुट वर्षा भएको छ।

आज रातिको समयमा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ।