ललितानिवास जग्गा प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’

विशेष अदालतले ललितानिवासका रूपमा चर्चित बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेको छ।

काठमाडौँ– विशेष अदालतले ललितानिवासका रूपमा चर्चित बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखेको छ।

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुख्य अभियुक्त मानिएका मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजासहित १७५ जनालाई प्रतिवादी बनाए दायर गरेको मुद्दाको सुनुवाइ बुधबार हेर्दाहेर्दैमा राखेको हो। 

बुधबार नै फैसला आउने भनिए पनि विशेष अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेर सुनुवाइका बिहीबारका लागि अर्को पेसी तोकेको हो। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले भने, “कलाधर देउजासमेत भएको (ललितानिवास) मुद्दा हेर्दाहेर्दैमा रहेकाले भोलि पेसी हुनेछ।” केही दिनयताको निरन्तरको बहसपछि यो मुद्दा फैसलाको चरणमा पुगेको हो।

ललितानिवास प्रकरणमा अनुसन्धान गरेर अख्तियारले २०७६ माघ २२ गते १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्दा ११० जनालाई सजाय र बिगोदाबीसहित तथा ६५ जनाको हकमा जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो। आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीसहित ११० जनासँग बिगो, कैद र जरिबाना माग गरेको छ भने अन्य ६५ जना जग्गाधनीलाई उनीहरूको जग्गा जफतका लागि मात्रै प्रतिवादी बनाएको छ।

समरजंग कम्पनीको नाममा रहेको २९९ रोपनी जग्गामध्ये १४३ रोपनी सरकारी जग्गा हिनामिना भएर व्यक्तिको नाममा दर्ता गराइएको पाइएको थियो। समरजंग कम्पनीको कार्यालयका नाममा रहेको जग्गा मन्त्रिपरिषद्को २०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ मा भएको निर्णयका आधारमा व्यक्तिका नाममा दर्ता भएर अरू व्यक्तिका नाममा नामसारीसमेत भएको थियो। ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित किर्ते मुद्दा काठमाडौँ जिल्ला अदालतमा पनि विचाराधीन छ।

यो पनि–
ललिता निवास जग्गा प्रकरणमा जोडिने समरजंग कम्पनीको कथा
ललिता निवास प्रकरण दबाउन को कसरी लागिपरे?
फैसला मिति नै तोकिएको ललिता निवासको मुद्दा कसका कारण फर्कियो पुनः सुनुवाइमा?