नेपाली टोलीले बिहीबार नामिबियासँग प्रतिस्पर्धा गर्दै लिग२ को शुरूआत गर्ने छ। खेलाडीहरू पछिल्लो समय राम्रो लयमा रहेको कारण तीन वटै टोलीबीच राम्रो प्रतिस्पर्धा हुने कप्तान रोहित बताउँछन्।
काठमाडौँ– दुई दिनअघि क्यानडासँग एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला ‘ह्वाइट वास’ गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्रामको मौका पाएको छैन। यद्यपि बिहीबारदेखि नेपालले घरेलु मैदानमा आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेट लिग२ को शुरूआत गर्दै छ।
नेदरल्यान्ड्स र नामिबियासँग हुने त्रिकोणात्मक शृंखलाका लागि नेपालले क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर अनिल साह र ब्याट्सम्यान देव खनाललाई समेटेर रोहितकुमार पौडेलको कप्तानीमा टोली बनाएको छ। यही टोलीले बिहीबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्ने छ।
सन् २०२७ को आईसीसी एक दिवसीय विश्वकप छनोटमा पुग्ने चक्रको रूपमा रहेको लिगमा नेपालले सुखद शुरूआतको लक्ष्य लिएको कप्तान रोहित बताउँछन्।
“सन् २०२० मा पहिलोपटक लिग२ शुरूआत गर्दा सोचेजस्तो भएको थिएन। राम्रो स्टार्ट एकदमै जरुरी हुन्छ जस्तो लाग्छ। किनभने यो एकदमै महत्त्वपूर्ण प्रतियोगिता हो, आठ वटा टोली छ,” उनी भन्छन्।
नामिबिया र नेदरल्यान्ड्स नेपालका नौला प्रतिस्पर्धी भने होइनन्। लिस्ट ‘ए’ मा सन् २०१६ मै नामिबियासँग भिडेको नेपालले एक दिवसीय मान्यता पाएपछि भने सन् २०२२ जुलाई ११ मा पहिलोपटक खेलेको थियो।
स्कटल्यान्डको कम्बसदुन न्यु मैदानमा भएको पहिलो भेटमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको थियो। त्यसयता पाँच पटक यी दुई टोली भिडेका छन्।
तीमध्ये एक खेलमा नामिबिया विजयी भएको छ भने एक खेलमा अंक बाँडेका छन्। नेपालले नामिबियासँग दुई खेल जितेको छ। ती दुवै खेल लिग२ अन्तर्गत गत वर्ष घरेलु मैदानमा भएका हुन्।

नेपालको अर्को प्रतिस्पर्धी नेदरल्यान्ड्स पनि उस्तै परिचित टोली हो। सन् २०१८ अगस्ट १ मा नेपालले पहिलोपल्ट ओडीआई डेब्यू गर्दा प्रतिद्वन्द्वी नेदरल्यान्ड्स नै थियो। उक्त खेलमा नेपाल ५५ रनले पराजित भए पनि त्यसको दुई दिनपछि भएको दोस्रो खेलमा कमब्याक गर्दै नेपालले १ विकेटको जित हासिल गरेको थियो र शृंखला बराबरीमा सकाएको थियो।
त्यसयताको पाँच वर्षपछि जिम्बाबेमा एक दिवसीय विश्वकप छनोटको समूह चरणमा यी दुई टोलीको भेट भएको थियो। तर नेपाललाई ७ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स अर्को चरणमा मात्र पुगेन १२ वर्षपछि विश्वकपमै फर्कियो। बांग्लादेश र दक्षिण अफ्रिकाजस्तो टोलीलाई पराजित गरेको नेदरल्यान्ड्स यसपटक सुपर लिगको पुछारमा रहँदै लिग२ मा घटुवा भएको हो।
नेपाल पनि पछिल्लो समय राम्रो लयमा रहेको कारण तीन वटै टोलीबीच राम्रो प्रतिस्पर्धा हुने कप्तान रोहित बताउँछन्। “दुवै एकदमै राम्रो टोली छ। नेदरल्यान्ड्स भर्खरै विश्वकप खेलेर आएको छ। नामिबियाले राम्रो गरिरहेको छ। क्यानडाविरुद्धको शृंखलाले हाम्रो टोली पनि सेट भएको छ। त्यसैले प्रतिस्पर्धा राम्रो हुन्छ,” उनी भन्छन्।
पाँच हप्ताको प्रशिक्षण गरेर आएको नामिबिया
गत वर्ष लिग२ अन्तर्गतका ३६ मध्ये ३० खेल सकिँदा नामिबिया अंक तालिकाको तेस्रो स्थानमा थियो। नेपाल, स्कटल्यान्ड र यूएईसँग दुई/दुई वटा शृंखला खेल्न बाँकी रहे पनि लयमा रहेको नामिबिया शीर्ष तीनमा रहेर जिम्बाबेमा हुने एक दिवसीय विश्वकप छनोटमा सिधै पुग्ने स्थिति थियो।
तर नेपालमा भएका चार खेलमा भने नामिबियाले त्यस्तो शक्तिशाली प्रदर्शन गर्न सकेन र जितविहीन भयो। सोही शृंखलाको पराजय भुल्न नसकेको नामिबियाले तीन दिनपछि यूएईसँग भएको खेलमा १ विकेटले पराजित भयो र चौथो स्थानमा धकेलियो। उसले राखेको लक्ष्यलाई नेपालले १ अंकले भेटायो र सिधै विश्वकप छनोट खेल्यो।
जहाँबाट शृंखलाको अन्त्य गर्ने सोच बनाएको थियो, त्यहीँ मैदानबाट नामिबियाले लिग२ को शुरूआत गर्ने छ। यसपटक शीर्ष चारमा रहेर विश्वकप खेल्ने लक्ष्य बोकेर आएको नामिबियाका मुख्य प्रशिक्षक पियरे डे ब्रुइन करिब पाँच हप्ताको तयारी गरेर नेपाल फर्किएको बताउँछन्।
“हामी यहाँ ठ्याक्कै १२ महिनाअघि आएका थियौँ। फेरि फर्केर आउन पाउँदा धेरै खुशी छौँ। हाम्रो तयारी धेरै राम्रो भएको छ। केही तयारी गत वर्षको अन्त्यमा टी२० विश्वकप छनोटबाट शुरू भएको थियो,” उनी भन्छन्, “नेपालले राम्रो खेलिरहेको छ। नेदरल्यन्ड्सले पनि विश्वकप खेलेर आएको छ। त्यसैले तीन टोलीबीच प्रतिस्पर्धात्मक शृंखला हुने छ।”

नामिबियालाई पछिल्ला दुई खेलमा हराउँदाताका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नै पहिलो खेलमा उपलब्ध हुने छैनन्। उनी दुबईमा जारी आईएलटी२० मा गल्फ जायन्ट्समा आबद्ध भएका छन्। यद्यपि, उक्त टोलीमा रहेका नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस भने नेपाल आइसकेका छन्। दीपेन्द्र नेपाली टोलीमा नहुँदा आफ्नो टोलीलाई केही फाइदा पुग्ने उनी बताउँछन्।
अनुभव खन्याउन तयार नेदरल्यन्ड्स
नामिबियाजस्तै नेदरल्यान्ड्सले पनि बलियो तयारी गरेर आएको मुख्य प्रशिक्षक रायन कुक बताउँछन्। उनका अनुसार नेदरल्यान्ड्सले दक्षिण अफ्रिका भ्रमण गरेको थियो। उसले दक्षिण अफ्रिकामा रहँदा लिग२ सँगै टी२० विश्वकपको तयारीसमेत गरेको छ।
यसका लागि उसले राष्ट्रिय टोलीसँग रहेर प्रशिक्षण गरेको थियो भने फ्रेन्चाइजी टोलीसँग पनि केही अभ्यास खेल खेलेको थियो। त्यसैले नेपाल र नामिबियाविरुद्ध राम्रो चुनौती प्रेस गर्नेमा उनी विश्वस्त देखिन्छन्।
“केटाहरूले पछिल्लो समय केही राम्रो तयारी गरेका छन्। हामीले विश्वकप तयारीका लागि जनवरीमा दक्षिण अफ्रिकाका साथसाथै फ्रेन्चाइजी टोलीसँग दुई क्याम्प गरेका थियौँ। अब हामी तयारीलाई अन्तिम चरणमा राख्दै छौँ। त्यसैले लिग२ हाम्रा लागि केही दिन चुनौतीपूर्ण हुनेछन्,” उनी भन्छन्।
यद्यपि, नेदरल्यान्ड्सले पछिल्ला तीन वर्षमा टी२० समेत गरेर दुई विश्वकप खेलेको छ। साथै सुपर लिगमा पनि टेस्ट राष्ट्रहरूसँग खेलेको अनुभव छ। त्यही अनुभवलाई सदुपयोग गर्दै नेपाल र नामिबियालाई चुनौती दिने लक्ष्यमा रहेको नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्स बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
