जर्मनी २२औँ संस्करणको विश्वकपमा समूह ‘ई’ मा परेको छ। समूहमा जर्मनीसँगै जापान, स्पेन र कोस्टारिका छन्।
चारपटकको विश्व विजेता जर्मनीलाई ‘असफलता’ शब्द सुन्ने बानी परेको छैन। र, बुधबार एशियाली राष्ट्र जापानविरुद्ध कतार विश्वकप २०२२ शुरू गर्ने तयारी गरेको जर्मनी रसिया विश्वकपको अनुभवलाई प्रतिबिम्बित गर्ने इरादामा पनि छैन।
यो शताब्दीकै उत्कृष्ट टोलीमध्येको एक हो जर्मनी। जर्मनी पछिल्ला पाँच प्रतियोगिताहरूमध्ये चारवटामा सेमिफाइनलमा पुग्न सफल भएको छ। तर, अपवाद नै भन्नुपर्छ चार वर्षअघि रसियामा आयोजना भएको २०औँ विश्वकपमा साबिक विजेता जर्मनीले उक्त सफलतालाई दोहर्याउन सकेन।
समूह ‘एफ’मा रहेको जर्मनीले रसिया विश्वकपमा स्विडेनबाहेक अन्य कुनै टोलीविरुद्ध जित हात पार्न सकेन। सन् १९५० पछि जर्मनी विश्वकपको समूह चरणबाट अगाडि बढ्न असफल भएको यो नै पहिलो घटना हो।
समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग १-० गोलअन्तरले पराजित भएको जर्मनीले दोस्रो खेलमा स्विडेनमाथि २-१ को संघर्षपूर्ण जित निकालेको थियो। तर, अन्तिम तथा निर्णायक खेलमा दक्षिण कोरियासँग २-० ले पराजित हुँदै जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।
डिफेन्डर निकलस सुले दक्षिण कोरियाविरुद्धको उक्त खेललाई भुलेर अगाडि बढ्नुपर्ने बताउँछन्।
“हामी द्रुत गतिमा अगाडि बढिरहेका छौँ। जहाँ सफलता र असफलताको कुरा गर्ने समय छैन”, उनी भन्छन्, “हिजो के भयो अब कसैलाई चासो छैन।”
जर्मनी २२औँ संस्करणको विश्वकपमा समूह ‘ई’ मा परेको छ। यस समूहमा जर्मनीसँगै जापान, स्पेन र कोस्टारिका छन्।
यस समूहबाट को अगाडि बढ्छन् भनेर अहिल्यै आकलन गर्न गलत हुनेछ। त्यसैले यस समूहलाई ‘ग्रुप अफ डेथ’ को रूपमा लिइएको छ।
युरोकप २०२० को अन्तिम १६ मा आयोजक इंग्ल्यान्डसँग पराजित भएर बाहिरिएपछि जर्मनीका मुख्य प्रशिक्षक जोकिम लोले राजीनामाको घोषणा गरेका थिए।
सन् २०१४ को ब्राजिल विश्वकपमा जर्मनीलाई उपाधि दिलाएका लोकोले राजीनामासँगै उनको सफलता दोहर्याउने जिम्मेवारी हान्सी फ्लिकको काँधमा छ।
५६ वर्षीय फ्लिकलाई जर्मन फुटबल संघले सन् २०२४ सम्मका लागि टोलीको जिम्मेवारी दिएको छ। सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा लो मुख्य प्रशिक्षक थिए भने फ्लिक सहायक प्रशिक्षक थिए।
फ्लिकको प्रशिक्षणमा सन् २०१९–२० को सिजन बायर्न म्युनिखले ६ वटा उपाधि जितेको थियो। अघिल्लो वर्षमात्रै उनले बायर्नलाई बुन्डेसलिगा जिताएका थिए।
उनलाई लामो समयदेखि प्रशिक्षक लोको स्थान लिनसक्ने प्रशिक्षकको रूपमा हेरिएको थियो।
फ्लिकले जर्मनीको प्रशिक्षण सम्हाल्दा लोको नेतृत्वमा युरोपेलियन छनोट अन्तर्गत समूह ‘जे’मा परेको जर्मनीले ३ खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो।
यद्यपि, रोमानियाबाहेक फ्लिकको नेतृत्वमा नर्थ म्यासेडोनिया, अर्मेनिया, आइसल्यान्ड र लिचेस्टाइनमाथि जित निकाल्दै जर्मनी कतार विश्वकपमा पुग्ने पहिलो टोली बन्यो। यसक्रममा जर्मनीले १० खेलमा ३६ गोल गरेको थियो। जहिले जर्मनी विश्वकप छनोटमा गरेको प्रदर्शनबाट हौसिएको छ।
“हामी धेरै टाढा जानको लागि योग्य छौँ”, विश्वकपमा डेब्यू गर्ने तरखरमा रहेका फरवार्ड जमाल मुसियाला भन्छन्, “हामी उपाधि जित्ने सोचका साथ अगाडि बढ्छौँ।”
विपक्षी जापानले पछिल्ला दुई संस्करणका विश्वकपको ७ खेलमध्ये एकमा मात्रै जित निकाल्न सकेको छ। ब्राजिल विश्वकपमा समूह चरणका सबै खेलमा हार बेहोरेको जापानले रसिया विश्वकपमा कोलम्बियाविरुद्ध मात्रै जित हात पार्न सकेको थियो।
तर, समूह ‘एच’को अन्तिम खेलमा सेनेगल कोलम्बियासँग १-० ले पराजित भएपछि जापानलाई गोल संख्याको आधारमा अन्तिम १६ मा पुग्ने ढोका खुलेको थियो। तर, जापान समूह चरणको खेलमा जस्तो भाग्यमानी कहलिएन र बेल्जियमसँग ३-२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो।
सन् १९९८ मा विश्वकप डेब्यू गरेयता जापान सातौँपटक सहभागिता जनाउने तयारीमा छ। यद्यपि, सन् २००२, २०१० र २०१८ को विश्वकपमा जापान अन्तिम १६ मा पुगेपनि त्यसबाट अगाडि बढ्न सकेको छैन।
जर्मनी र जापानबीचको विश्वकपमा यो पहिलो भेट हो। जर्मनी अघिल्ला दुई मैत्रीपूर्ण खेलमा अपराजित छ। इंग्ल्याण्डसँगको मैत्रीपूर्ण खेलमा ३-३ गोलको बराबरी खेलेको जर्मनीले ओमानसँग १-० को जित निकालेको थियो।
प्लेयर टु वाच
जमाल मुसियाला र युसुफा मौकोको
जर्मनीको विश्वकप खेल्ने टोलीमा युवा तथा अनुभवी खेलाडीको राम्रो मिश्रण छ। यद्यपि, यो टोलीमा त्यस्ता एक खेलाडी छन्, जसमाथि सबैको नजर रहनेछ। ती खेलाडी हुन्, १९ वर्षीय जमाल मुसियाला र १७ वर्षीय युसुफ मौकोको। यसपटकको फिफा विश्वकपमा युसुफ सबैभन्दा कान्छा खेलाडी हुन्।
उनलाई अहिले जर्मनीको उदाउँदो फुटबल स्टार मानिन्छ। यो सिजन बुन्डेसलिगामा उनको कीर्तिमानी प्रदर्शन प्रभावशाली रह्यो। युसुफले बोरुसिया डर्टमण्डबाट खेल्दा ६ गोल तथा ३ असिस्ट गरेका छन्। आफ्नो प्रदर्शनका कारण युसुफले जर्मनी राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फ्लिकको ध्यान आकर्षित गरे। स्टार फुटबलर टिमो वेर्नर घाइते भएपछि युसुफालाई जर्मनीको टोलीमा समावेश गरिएको हो ।
यता, बायर्न म्युनिखबाट खेल्दै आएका जमाल पनि जर्मनी राष्ट्रिय टोलीका नयाँ अनुहार हुन सक्छन्। १९ वर्षीय यी खेलाडीले यो सिजन बुन्डेसलिगाका १४ खेलमा ९ गोल र ६ गोलका लागि अवसर सिर्जना गरिदिएका छन्।
ताकुमी मिनामिनो
मिनामिनो जमालजस्तै विश्वकपमा डेब्यू गर्ने तयारीमा छन्। सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा जापानको प्रारम्भिक टोलीमा समावेश भए पनि उनी मैदान उत्रिन पाएनन्।
इङ्लिस क्लब लिभरपुलमा दुई वर्ष फुटबल खेल्दा हलक्कै कद बढेपनि उनी पछिल्ला वर्षहरूमा निकै सुस्ताएका छन्। २०२० देखि २०२२ सम्म लिभरपुलमा बिताएका उनी ब्राजिलियन फरवार्ड रोबर्ट फर्मिन्हो, इजिप्टका मोहमद सलाह र हाल बार्यनमा रहेका सेनेगलका फरवार्ड साडियो मानेको छायामा परिरहे।
अन्य खेलाडीले उत्कृष्ट खेलिरहँदा मैदान कमैमात्र उत्रिने मौका पाएका मिनामिनोले दुई सिजनमा ३० खेल खेल्दै ४ गोल मात्रै गर्न पाए। त्यसपछि लिभरपलुलले लुइस डियासलाई भित्र्याएपछि उनी लोनमा अर्को इङ्लिस क्लब साउथह्याम्टन पुगेका थिए। त्यहाँपनि १० खेल खेल्दै २ गोल गरेका मिनामिनो अहिले फ्रेन्च क्लब मोनाको पुगेका छन्।
उनले मोनाकोका लागि यो सिजनमा ९ खेल खेल्दै केवल एक गोलमात्र गरेको छ। यद्यपि, जापानका लागि मिनामिनो प्रदर्शन औसत छ। सन् २०१५ मा जापानको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले त्यसयता ४४ खेल खेल्दै १७ गोल गरिसकेका छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
