नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, आरिफ बेन्चमा

त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि घरेलु टोली नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

काठमाडाैँ– सन् २०२७ को एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) विश्वकप छनोटको चक्रको रूपमा रहेको लिग २ को पहिलो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि घरेलु टोली नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

मुख्य प्रशिक्षक मोन्टि देसाईंले टोलीमा एक परिवर्तन गरेका छन्। उनले आरिफ शेखलाई विश्राम दिएका छन्। ८ राष्ट्रको सहभागिता रहने लिग २ शृंखलाका शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट स्थान बनाउने छ।

बिहीबारदेखि यही फागुन १३ गतेसम्म हुने लिग–२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक खेल हुनेछ।

लिग–२ खेल्ने नयाँ नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङको नाम समेटिएको छ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग २ का लागि क्यानडासँगको खेलमा राम्रो प्रदर्शन गरेका अनिल साह र देव खनाललाई समावेश गर्दै नयाँ टोली घोषणा गरेको थियो।