कांग्रेसले फागुन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
काठमाडौँ– नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ। कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो।
गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढंगले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो।
कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजंग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ।
यस्तै, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुंगटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।
स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले पछिल्लो समय सबै उपसमितिलाई पूर्णता दिएर काम शुरू गरिसकेको बताइएको छ। पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम शुरू गरिसकेको जानकारी दिए।
महासमिति बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी गठन गरेको र उक्त समितिमा पार्टी केन्द्रीय पदाधिकारी तथा पार्टी प्रवक्तालाई राखिएको छ। बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पार्टीका महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रस्ताव पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसले फागुन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। यस्तै सूचना, सञ्चार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री बिक्री तथा वितरण केन्द्र राख्ने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने, महासमितिको बैठक हल बाहिर विभिन्न चमेनास्थलको व्यवस्था गर्ने जनाएको छ।
महासमिति बैठकमा फागुन ६ देखि १० गतेसम्म मिडिया सेन्टर स्थापना गरिने, कार्यक्रमको उद्घाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने, प्रत्येक दिन तीन–तीन घण्टामा सञ्चारमाध्यमलाई समाचार दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
यस्तै, महासमिति बैठकसम्बन्धी सबै किसिमका नियमित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधियुक्त (डिजिटल) एक सूचना केन्द्र स्थापना गर्ने र डिजिटल बोर्डबाट कम्तीमा तीन स्थानमा सूचना दिने व्यवस्था मिलाउनुका साथै महाधिवेशनमा सहभागीले स्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको छ।
सहभागीलाई दिइने सामग्री: झोला, डायरी, कलम, महासमितिको लोगो, नीति प्रस्ताव एवं प्रतिवेदन प्रदान गरिने, महासमिति सदस्य बस्ने मुख्य स्थानबाट कार्यक्रम स्थलसम्म जानआउन निःशुल्क बस सेवा सञ्चालन गर्ने कांग्रेसले जनाएको छ।
यसैगरी कार्यक्रम अवधिभर बिहानको चिया, नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै उपलब्ध हुनेछ भने बेलुकाको खाना र आवास सहभागी आफैँले व्यवस्था गर्नुपर्ने कांग्रेसले जनाएको छ।
दुई हजार बढी प्रतिनिधि सहभागी रहने
कांग्रेसको महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता! स्वतन्त्रता, न्याय र समानता!! नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शुरू हुन लागेको महासमिति बैठकमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन्।
यस्तै, पार्टीको भ्रातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत भाग लिने कांग्रेसले जनाएको छ। महासमिति बैठक आउन केही दिन मात्र बाँकी रहँदा धेरै जिल्लाका प्रतिनिधिको नाम टुंगो लगाउन बाँकी छ। कांग्रेसले महासमितिमा भाग लिने प्रतिनिधिका बारेमा समेत बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने तयारी गरेको छ।
कांग्रेस निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले माघ २० गतेसम्म महासमिति बैठकमा भाग लिनका लागि देशभरका १३८ निर्वाचन क्षेत्रबाट प्रतिनिधि टुंगो लगाएर पार्टीलाई बुझाइसकिएको जानकारी दिए। “माघ २० गतेपछि आएका केही क्षेत्रका प्रतिनिधिको नामावलीमा विवाद देखिएको छ, यसका बारेमा हामीले आवश्यक अध्ययन गरिरहेका छौँ, निर्वाचन समितिले हालसम्म १३८ क्षेत्रको प्रतिनिधि टुंगो लगाएको छ, बाँकी २७ क्षेत्रको टुंग्याउन बाँकी छ,” सदस्यसचिव श्रेष्ठले भने।
निर्वाचन समितिका अनुसार भोजपुर, काठमाडौँको क्षेत्र नं ५ र ६, रामेछाप, पर्वत, धादिङ, दोलखा, बारा, पर्सालगायतका जिल्लामा महासमिति सदस्य टुंगिन बाँकी छ। निर्वाचन क्षेत्रबाहेक निर्वाचन समितिले पार्टीको भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट आएका नामावलीसमेत टुंगो लगाएर पार्टीलाई बुझाइसकेको श्रेष्ठले बताए। सबै क्षेत्रको प्रतिनिधिको नाम टुंगिएमा महासमितिमा दुई हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
