गोली प्रहार गरी ड्युटीमा रहेकी महिला प्रहरीको हत्या

दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या गरिएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ। 

बिहीबार राति वडा प्रहरी कार्यालय, घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली लागी मृत्यु भएको हो। उनीमाथि घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला गोली प्रहार भएको थियो। 

उनमाथि गोली प्रहार गरेको भन्दै उनका श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँकीले बिहीबार दाङ आएर श्रीमतीमाथि गोली प्रहार गरेको प्रहरीको आशंका छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, डीआईजी कुबेर कडायतले झाँकीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको बताए। पारिवारिक झगडाका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।