३५ किलो चरेससहित २ जना भारतीय नागरिक पक्राउ

भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस  हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरेको हो। 

काठमाडाैँ– लागुऔषध चरेससहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत उत्तर प्रदेश, बरेध जिल्ला, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

अभिव्युक्तहरूको साथबाट ३४ किलो ९६८ ग्राम लागुऔषध चरेस बरामद गरिएको थियो। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बुधबार बरामद गरेको हो। 

अभियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले बताए।