दिल्लीको एक उद्योगमा आगलागी हुँदा ११ जनाको मृत्यु

शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्

दिल्लीको अलिपुरमा रहेको रसायन गोदाममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घटना बिहीबार साँझ साढे पाँच बजेतिरको हो।

अलिपुरको दयालपुर बजारमा रहेको पेन्ट कारखानाको गोदाममा ११ जनाको जलेको शव फेला परेको अधिकारीहरूले बताएका छन्। दुई जना भेटिएका छैनन्। आगलागीमा परी घाइते भएका प्रहरीसहित चार जनाको उपचार भइरहेको छ।

भारतीय सञ्चार माध्ययमले जनाएअनुसार आगलागी हुनुअघि कारखानामा विष्फोटको आवाज सुनिएको र त्यहाँ भण्डारण गरिएका रसायनका कारण विस्फोट भएको आशंका अधिकारीहरूले गरेका छन्। ६ वटा दमकलको सहायतामा चार घण्टाभित्र आगो नियन्त्रणमा लिएको एक अधिकारीले बताए।

"आगो छेउछाउको एउटा घर र नसा मुक्ति केन्द्रमा फैलिएको थियो। त्यहाँ विस्फोट भएको थियो जसका कारण भवन भत्किएको थियो, जसमा ११ जना मजदुरको ज्यान गएको थियो। शव पूर्णरूपमा जलेका छन्, पहिचान गर्न गाह्रो भएको छ," दिल्ली दमकल सेवाका निर्देशकले भने।

अझै पनि आगलागीको यकिन कारण भने खुलेको छैन। बेपत्ताहरूको खोजी कार्य जारी रहेको उनले बताए।