ग्रीसले समलिंगी विवाहलाई दियो मान्यता

 यस्तो विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परागत इसाई मुलुक हो।

ग्रीसले एक 'साहसिक कदम' चाल्दै समलिंगी विवाहलाई मान्यता दिएको छ। यस्तो विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परागत इसाई मुलुक हो।

ग्रीसको संसदमा समलिंगी विवाहलाई कानूनी मान्यता दिने प्रस्ताव बिहीबार बहुमतले पारित भएको थियो। संसदमा १७६ ले प्रस्तावको पक्षमा र ७६ विपक्षमा मतदान गरेका हुन्। प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, "नयाँ कानूनले यो गम्भीर असमानतालाई धेरै साहसी रूपमा हटाउनेछ।"

राजपत्रमा प्रकाशित भएपछि मात्रै कानून लागू हुनेछ। ग्रीसमा अब समलिंगी दम्पतीले कानूनी रूपमा धर्मपुत्र राख्न सक्नेछन्।

ग्रीसलाई कट्टर धार्मिक देश पनि मानिन्छ। यो नयाँ कानूनलाई लिएर त्यहाँका मानिसहरू विभाजित छन्। अर्थोडक्स चर्चबाट कडा विरोध भइरहेको छ। अहिले त्यहाँ समलिंगी विवाहलाई स्वीकृति दिएको विरोधमा प्रदर्शन भइरहेका छन्। एथेन्समा समलिंगी विवाहको विरोधमा चर्चका समर्थकहरूले प्रदर्शन गरेका छन्।

अर्थोडक्स चर्चका प्रमुख आर्कबिशप लेरोनिमोसले यो कदमले देशमा सामाजिक सद्भावमा हानी पुर्‍याउने बताएका छन्।