किरातहरू जातिवादी थिएनन्। उनीहरूमा जातीय अहंकार पनि थिएन। काठमाडौँ उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा उनीहरूले नामको पछि जात वा थर लेखेनन्।
विभिन्न समयमा किरात र लिम्बूको सम्बन्धबारे चर्चा हुने गरेको छ। केही लेखकले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना हुँदै आएको छ। वास्तवमा लिम्बूहरू नामको पछि जात वा थर नलेख्ने समूहमा पर्छन्। उनीहरूले लिम्बू लेख्नुअघि ६ पुस्तासम्म राय लेखेको पाइएको छ। यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ।
योभन्दा अझ अघि जाने हो भने केही पुस्तासम्म नामको पछि हाङ जोडेको समेत पाइएको छ। हाङ शब्दको प्रयोगअघि नाम मात्र उल्लेख गरिन्थ्यो। जस्तैः यलम्बर, गस्ती, स्थुंको आदि उदाहरण हुन्।
तत्कालीन समयमा जात वा थर लेख्ने वा भन्ने प्रचलन थिएन। राय पनि थरको रूपमा नभई उपाधिको रूपमा प्रयोग गरिएको थियो। यसको अर्थ ‘राजा’ भन्ने हुन्थ्यो। राय पदवी धारण गर्ने पहिलो व्यक्ति विजयपुर (हालको धरान)का राजा पुङलाइङ हुन्। यिनी कोचवंशी थिए भन्ने विद्वान्हरूको भनाइ छ।
इतिहासकार इमानसिं चेम्जोङले भने ‘साक्वादेन थरका लिम्बू’ भनी लेखेका छन्। उनी आजको तुम्बाहाम्फे, निङ्लेकु, पङ्यागु, सिंगकलगायत लिम्बूहरूको पुर्खा हुन्। दोस्रो राय पदवी धारण गर्ने व्यक्ति मुरेहाङ हुन्। उनी खेवाहाङहरूको पुर्खा मानिन्छन्। खेवाहाङहरूले पनि ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ।
पश्चिम नेपालमा राय पद धारण गर्ने जुम्लाका राजा पुष्प मल्ल हुन्। उनले सन् १३३७ मा राय पदवी धारणा गरेका थिए। विजयपुरमा सेनहरूको शासन गरेको समयताका अरुणपूर्वका सबै किरातहरूले राय लेख्ने प्रचलन थियो। राय उपाधि किरातहरूलाई दिइएको थियो र किरात लिम्बूहरूले प्रयोग गरेका थिए।
किरातहरू जातिवादी थिएनन्। उनीहरूमा जातीय अहंकार पनि थिएन। त्यसैले काठमाडौँ उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा मात्र नभई काँगडा सतलज उपत्यकादेखि पाटक पताञ्जली एवं गन्धवी राज्यमा राज्य चलाउँदा पनि नामको पछि जात वा थर लेखेनन्।
हिन्दू राजा पृथ्वीनारायण शाहले आक्रमण गरी वल्लो तथा माझ किरात हडपेपछि पल्लो किरातमा आँखा लगाए। पल्लो किरात अर्थात् लिम्बुवानसँग कैयौँपटक युद्धमा नराम्ररी हार खाएपछि गोर्खा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले उनीहरूसँग सम्झौता गरे। त्यसपछि पृथ्वीनारायण शाहका अमाल प्रशासकहरूले जात वा थरको खोजी गर्न थाले।
यसबाट राई–लिम्बूहरूमा पनि पहिचानको खोजी भयो। यही क्रममा केहीले आफू ‘राय’ लिम्बू भएको बताए। त्यही राय शब्द विशेष गरेर रणबहादुर शाहदेखि यता जारी भएका लालमोहरहरूमा ‘राई’ भनी प्रयोग गरिएको छ।
कतिपयले आफ्ना पूर्वजको सम्झना गर्दै याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताए। कतिले खाम्सोसोहाङ खम्बुकहाङको सन्तान भएको बताए। यहीँबाट खस पर्वतेहरूले उनीहरूलाई लिम्बू र खम्बू भन्न थाले। यही भनाइलाई हड्सन पाण्डुलिपिमा ‘लिम्बूहरू आफूलाई याक्थुङ्वा भन्न रुचाउँछन् तर खस पर्वतेहरूले उनीहरूलाई लिम्बू भन्न थाले’ भनी लेखेका छन्। जेआर सुब्बालगायत धेरै इतिहासकारहरूले लिम्बू शब्द सन् १७७४ पछिको गोर्खालीले राखिदिएको भनी आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। त्यसरी नै काजिमान कन्दङ्वाले सेनहरूको राज्यकालभरि किरातहरूलाई राय भनियो र पछि गोर्खालीसँग सम्झौता भएपछि लिम्बू भन्न थालिएको उल्लेख गरेका छन्।
नेपाल खाल्डोबाट किरातहरू विस्थापित भई याक्थुङहाङ, लिलिमहाङ र खाम्सोसोहाङ अलग भएपछि यिनैका सन्तान आजका लिम्बू र राई भएका हुन्। यिनीहरू वास्तवमा एकै सन्तान थिए। राजधानी सार्ने कुरामा मत विभाजन भई दुई जातिमा विभक्त भएका हुन्। तत्कालीन समयमा राई र लिम्बू नभनिए पनि कालान्तरमा आएर तिनै समूह राई र लिम्बूका रूपमा चिनिए।
दूधकोशीपूर्वका सबै भूभाग जिते पनि पृथ्वीनारायण शाह अरुण नदी नाघेर पूर्व छिर्न नसकेपछि अरुण नै सिमानाका रूपमा विकास भयो। किनकि अरुणपारिका धेरै ठाउँहरूमा लिम्बू सेना गोर्खाली फौजविरुद्ध लडेको प्रमाणहरू फेला परेका छन्। लिम्बुवानको गठन हुँदा छथरबाट दूधकोशीसम्म खेवाहाङहरूले शासन गरेको डा. हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा उल्लेख गरेका छन्। खेवाहाङहरूले खोटाङमा चाम्लिङचिम्लिङ गढ निर्माण गरेको इमानसिं चेम्जोङले आफ्नो पुस्तकमा पनि लेखेका छन्।
लिम्बू जातीय समुदायमा तीन समूहको सम्मिश्रण छ। ती तीन समूह तिब्बती, चिनियाँ र किरात हुन्। तीन समूह नै राई, लिम्बू, गुरुङ, मगर, तामाङलगायत प्रायः सबै जातिमा सम्मिश्रित भएको पाइन्छ। अझ नेवार समुदायमा ब्राह्मण क्षेत्रीहरूको समेत मिश्रण छ। उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामको छुट्टै थरको विकास भएको पाइन्छ।
तत्कालीन समयमा बस्ती पातलो हुँदा भैयाद (भाइसरह) बनाइने चलन थियो। भैयाद बनाएर सोही थर दिइने हुँदा कुनै पनि जाति शुद्ध छैन। त्यसरी नै राई जातिमा पनि किरातहरू मात्र छैनन्। उनीहरूमा चीनको खाम प्रान्तबाट आएका समुदाय अरुणको गडतिर हुँदै खम्बुवानमा बसोबास गर्न आइपुगेको पाइएको छ। जस्तो, खाम्सोसोहाङका सन्तान बनेपाबाट पूर्व प्रस्थान गरेको पाइएको छ।
यता याक्थुङहाङ लिलिमहाङ शब्दबाटै पूर्वमा ‘याक्थुङ लाजे’ र पछि राज्यको पुनर्संरचना गर्दा लिम्बुवान राज्यको नामकरण गरिएको हो। त्यसैले लिलिमहाङका सन्तान नै आजका लिम्बू जाति हुन्। याक्थुङहाङ लिलिमहाङ काठमाडौँका अन्तिम किरात राजा योक्नेहाङका छोरा भएको हुँदा किरात र लिम्बूबीच वंशानुगत सम्बन्ध रहेको पाइन्छ। लिम्बू जाति किरात होइन भन्ने भनाइ सत्य छैन। आठ किरात र लिम्बू विद्रोहपछि लिम्बुवान भएको तथ्यले लिम्बू जाति किरात होइनन् भन्नेहरूलाई दिग्भ्रमित तुल्याएको हुनसक्छ। तर बिर्सनै नहुने कुरा आठ किरात–चिनियाँ सरदारका सन्तानबीचको विद्रोहपछि तिनै आठ किरातहरू पनि केही लिम्बू भएका छन्। अर्को लिम्बू र लिम्बूवान शब्द किरात राजा याक्थुङहाङ लिलिमहाङकै नामसँग सम्बन्धित छ। लिम्बू र लिम्बुवान शब्द अरूबाट आयातीत होइन।
करिब २०० वर्षअगाडि इतिहासकार कर्नेल कर्क पेट्रिकले आफ्नो पुस्तक ‘द अकाउन्ट अफ द किङ्डम अफ नेपाल’मा नेपालको पूर्वी भागमा लिम्बू जातिको बसोबास भएको उल्लेख गरेका छन्। नेपाली शब्दकोशले लिम्बू जातिलाई ‘लिम्बुवानमा बस्ने एक किरात जाति’ र लिम्बुवानलाई ‘दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबास भएको कोशी, मेची अञ्चलको पहाडी क्षेत्र’ भनेर अर्थ्याइएको छ।
अर्का इतिहासकार एच हड्सनले सन् १८७४ मै आफ्नो पाण्डुलिपि पुस्तकमा लिम्बू र लिम्बुवान शब्दको प्रयोग गरेका थिए। त्यो पुस्तकमा लिम्बूहरूले आफूहरूलाई याक्थुङ्बा भन्ने तर खस पर्वतेहरूले लिम्बू भन्ने गरेको उल्लेख छ।
केही इतिहासकारले लिम्बू जातिलाई धनुर्धारी पनि भन्ने गरेका छन्। ईशापूर्व ६०० तिर आसामतर्फबाट सानमकवानवंशी तीन पुरोहितसहित सात धनुर्धारीहरू प्रवेश गरेर आठ सामन्त किरात हाङ राजाको राज्य (खम्बुवान ?) फेदाप कब्जामा लिइ लिम्बुवान राज्य स्थापना गरेको दाबी गरेका छन्। चिनियाँ भाषासँग सम्बन्धित ‘लिम्बू’ शब्दको अर्थ धनुर्धारी हुन्छ। धनुकाँडको मद्धतले फेदापमा आक्रमण गरी राज्य स्थापना गरेकाले उक्त राज्यको नाम लिम्बुवान र जाति लिम्बू हुन गयो।
अर्काथरी इतिहासकारका अनुसार इस्वी संवत् ४ मा योक्नेहाङ नामका किरात राजाले नेपाल खाल्डोमा शासन गरिरहेको बेला लिच्छवि वंशका भूमि वर्माले आक्रमण गरी उनलाई पराजित गरे। उनै योक्नेहाङले साँगापूर्व बनेपामा राजधानी सारे। योक्नेहाङपछि लिलिमहाङले राज्यसत्ता सम्हाले। लिच्छविहरूको बारम्बारको आक्रमणपछि सहोदर भाइ खाम्सोसोहाङलाई राजधानी सार्ने प्रस्ताव राख्दा उनले अस्वीकार गरे। त्यसपछि दाजु लिलिमहाङले खाम्सोसोहाङलाई त्यही छोडी कुल ५२ हजार कविलाई सेना लिई सुनकोशीको तिरैतिर अरुणपूर्व हाङसेम्मालुङ, हाङसामोरोङ, झलारा, बेलहारा हुँदै तावालुङ, सुसुवादेन ताक्लृुङ पुगे।
त्यो स्थान सामरिक महत्त्वको भएकोले लिलिमहाङले त्यसैलाई राजधानी बनाए। लिम्बुवानको पहिलो ऐतहासिक राजधानी त्यही थियो। लिलिमहाङले स्थापना गरेको यही राज्य लिम्बुवान भयो र उनका अनुयायीहरू लिम्बू हुन पुगे। स्व. इमानसिं चेम्जोङले पनि आठ किरात राजा र १० चिनियाँ सरदारको विद्रोहमार्फत लिम्बू जातिको उदय र लिम्बुवान राज्यको गठन भएको उल्लेख गरेका छन्।
सातौँ शताब्दीमा राजा मावोरोङले दूधकोशी र मेचीबीचको भूभागमा लिम्बुवान राज्य स्थापना गरे। सन् १३७४ मा राजा साइलाइङको समयमा लिम्बुवान राज्यको सिमाना उत्तर तिब्बत, दक्षिण भारतको जलालगढ (जसको अवशेष अझै छ), १८औँ शताब्दीमा पूर्वमा टिष्टा, उत्तरमा तिब्बत, दक्षिण भारतको विहार र पश्चिम अरुण नदीसम्म फैलिएको थियो।
सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो। गोर्खाका राजा पृथ्वीनारायण शाहले पटकपटक हमला गर्दा पनि नजितेपछि लिम्बुवानका केही थुमे राजालाई षड्यन्त्रमूलक ढंगले आफ्नो पक्षमा पारे। पृथ्वीनारायण शाहको षड्यन्त्रविरुद्ध विजयपुरका राजा बुद्धिकर्ण रायले विद्रोह गरे। त्यसको केही समयपछि गोर्खाली सेनाले षडयन्त्रमूलक ढंगले उनको हत्या गर्यो।
राजा पृथ्वीनारायण शाहले १८३१ साउन २२ गते एकतर्फी इस्तिहार लालमोहर जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे। यो घोषणा पछि ३२ हजार लिम्बूहरू लिम्बुवानको स्थापनाको लागि बिदेसिएको कथन छ। १८७२ सालको सुगौली सन्धिपछि लिम्बुवानको पूर्वी सीमाना टिष्टाबाट खुम्चियो र दक्षिणको अधिकांश भूभाग पनि गुम्यो। लिम्बुवान तीन फ्याक भई नेपाल, सिक्किम र दार्जिलिङ (भारत) मा विभाजन भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
