भारतीय कर विभागले गर्‍यो विपक्षी दलको बैंक खाता रोक्का

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीले कर विभागले आफ्नो बैंकका खाता रोक्का गरिदिएको जनाएको छ।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीले आयकर विभागले आफ्नो सबै बैंक खाता रोक्का गरिदिएको जनाएको छ। राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि प्रतिपक्षी दल कांग्रेसको बैंक खाता रोक्का गरिएको जनाइएको हो। 

“हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ,” कांग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने। माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ को आयकर दाखिलासम्बन्धी अनुसन्धानपछि दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर) दाखिला गर्न भनेको थियो।

पार्टीले त्यस्तो जरिबाना रकम तिर्न कदम नचालेको भन्दै चुनावअघि नै पार्टीलाई किनारा लगाउने उद्देश्यले यस्तो कदम चालेको उनले दाबी गरे। “राष्ट्रिय चुनावको घोषणा हुनुभन्दा दुई हप्ताअघि नै प्रमुख प्रतिपक्षी दलको खाता रोक्का गरिएको छ, के तपाईंलाई लाग्छ कि हाम्रो देशमा लोकतन्त्र जीवित छ?” उनले भने।

आलोचक र अधिकारवादी समूहहरूले नरेन्द्र मोदी सरकारले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्दै कानून प्रवर्तन एजेन्सीहरूको प्रयोग गरेको आरोप लगाएका छन्। भारतीय राजनीतिमा दशकौँदेखि प्रभुत्व जमाएका कांग्रेस नेता राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिको अभियोगमा दोषी ठहर गरिएको थियो।

उनको दुई वर्षको जेल सजायलाई उच्च अदालतले निलम्बन नगरेसम्म उनलाई संसद्बाट अयोग्य घोषित गरिएको थियो। उनको निलम्बनले विश्वको सबैभन्दा बढी जनसंख्या भएको प्रजातान्त्रिक मुलुकको लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रश्नचिन्ह खडा गरेको थियो। यद्यपि, अदालतको विपक्षी नेताको पक्षमा दिएको फैसलापछि उक्त आरोप स्वतः निस्प्रभावी भएको थियो।