नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ हुने

म्युजिक फर हार्मोनीका लागि ‘कुटुम्ब’ तथा गायिका झुमा लिम्बू र ‘रैथाने’ ब्यान्डले पहिलो पटक सहकार्य गर्दै छन्। 

नेपालगन्ज– बाँकेको नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ। अन्तरालको व्यवस्थापनमा नेपाल कल्चर फेस्टिभलको अवसर पारेर फागुन २६ गते शनिबार म्युजिक फर हार्मोनी कार्यक्रम आयोजना गर्न लागिएको हो।

म्युजिक फर हार्मोनीका लागि ‘कुटुम्ब’ तथा गायिका झुमा लिम्बू र ‘रैथाने’ ब्यान्डले पहिलो पटक सहकार्य गर्दै छन्। ‘कुटुम्ब’ले नेपाली लोक बाजाहरूको प्रवर्द्धन, अनुसन्धान र संरक्षणलाई प्रमुखता दिई नेपाली लोकधुनलाई नेपाल मात्र होइन विश्वका धेरै देशका सांगीतिक मञ्चहरूमा प्रस्तुत गरिसकेको छ।

त्यस्तै, ‘म्युजिक ट्र्याक’मा गीत नगाउने पहिचान बनाएकी लिम्बूले विदेशी र स्वदेशी संगीतकर्मीलाई समेटेर ‘रैथाने’ ब्यान्डमार्फत काम गरिरहेकी छन्। सुदूरपश्चिमको देउडादेखि विभिन्न भाषाभाषीका गीत, पूर्वको लिम्बू संस्कृतिको पालामसम्म आफ्नो स्टेज प्रस्तुतिमा समेट्ने गरेकी लिम्बू चलचित्रका गीत र पार्श्व गायनमा समेत सक्रिय छन्। झुमासहितको टिमले नेपाली मौलिक बाजाहरूको अध्ययन गर्ने क्रममा आफैँले केही नयाँ बाजाहरू बनाएका छन्।

अन्तरालका कार्यक्रम संयोजक गणेश राईले कार्यक्रम आयोजनाको तयारी तीव्र पारिएको बताए। “देशभरको संस्कृति एकै ठाउँमा झल्काउने गरी आयोजना गरिएको नेपाल कल्चर फेस्टिभलको तयारी तीव्र पारिएको छ,” उनले भने, “म्युजिक फर हार्मोनीले नेपालगन्जबाट संसारलाई सद्भावको सन्देश दिनेछ।” नेपालगन्ज रंगशालामा हुने कार्यक्रमको टिकटमा विद्यार्थीलाई विशेष सहुलियत हुने उनको भनाइ छ।