युक्रेन र जर्मनीबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर

जर्मनी अमेरिकापछि युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीसँग द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। 

रुसले पूर्णस्तरको युद्ध शुरू गरेको करिब दुई वर्षपछि पश्चिमी समर्थन बढाउन काम गरिरहेका बेला यसबाट दीर्घकालीन समर्थनको एउटा बलियो संकेत प्राप्त भएको जनाइएको छ। 

जेलेन्स्कीलाई शुक्रबार बर्लिनमा जर्मन चान्सलर ओलाफ स्कोल्जले स्वागत गरे। स्कोल्जले सामाजिक सञ्जाल एक्समा लेखेका छन् “जेलेन्स्की र मैले हाम्रो दीर्घकालीन सुरक्षा प्रतिज्ञाको एउटा सम्झौतामा हस्ताक्षर गरेका छौँ।” उनले उक्त सम्झौतालाई ऐतिहासिक कदम भनेका छन्। 

स्कोल्जले अमेरिकी कोष जारी गर्ने अत्यावश्यकतालाई जोड दिन एक साताअघि वासिङ्टनको भ्रमण गरेका थिए। अमेरिकापछि जर्मनी अहिले युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो। साथै स्कोल्जले हालै अन्य युरोपेली मुलुकसँग थप हतियार वितरण गर्नसमेत आह्वान गरेका छन्। 

गत महिना युक्रेन र बेलायतबीच भएको सुरक्षा सम्झौतापछि जर्मनीसँग द्विपक्षीय सुरक्षा तथा दीर्घकालीन समर्थन सम्झौता भएको हो। यो सम्झौताले आगामी १० वर्षलाई समेट्ने छ। 

जेलेन्स्कीले शनिबार उच्चस्तरीय सुरक्षा तथा विदेश नीति अधिकारीहरूको वार्षिक सभाका रूपमा रहेको म्युनिख सुरक्षा सम्मेलनमा भाग लिनेछन्। उक्त सम्मेलनमा उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत अन्य नेतालाई भेट्ने समाचार संस्था एएफपीले जनाएको छ। 

बेलायत–युक्रेन सम्झौतामा युक्रेनको रक्षा निर्माणमा सहयोग गर्ने र रुसबाट पुनः आक्रमण भएमा द्रुत र दिगो सुरक्षा सहयोग प्रदान गर्ने प्रतिबद्धता गरिएको थियो।