६ मुहानबाट संकलन गरेर गाउँमा खानेपानी, २३८ परिवार लाभान्वित

आयोजना निर्माण गर्न दुई करोड १२ लाख रुपैयाँ खर्च भएको छ। जसमा उपभोक्ताले ५२ लाख ६३ हजार बराबरको श्रमदान गरेका छन्। 

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णमा खानेपानीको समस्या हटेको छ। यहाँका २३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको खानेपानीको समस्या हटेको हो। 

आयोजना निर्माण गर्न दुई करोड १२ लाख रुपैयाँ खर्च भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। जसमा ५२ लाख ६३ हजार  बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए। 

छवटा मुहानबाट संकलन गरेर बस्तीसम्म पानी ल्याइएको हो। कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्‌ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएको हो। आयोजनाको पाइपलाइन २६ हजार ९५ मिटर छ।

यहाँ १५ संकलन ट्यांकी र नौ वितरण ट्यांकी निर्माण गरिएका छन्। गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरूलाई सहयोगका लागि गुहार्नु परेको बताइन्।

“स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्,” उपाध्यक्ष राईले भनिन्, “२०८०/८१ मा थप ८० परिवारको घरमा पानी  पुर्‍याउने लक्ष्य छ।”