संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख नेताहरूले पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख नेताहरूले पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएको मृत्युबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको रुसी कारागार प्रशासनले शुक्रबार जनाएको थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा रहेको भनिएका नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन्। महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले नभाल्नीको मृत्युबाट महासचिव ‘स्तब्ध’ भएको बताएका छन्।
यसैगरी, राष्ट्रसंघको मानवअधिकार कार्यालयले स्वतन्त्र निकायमार्फत घटनाको छानबिन हुनुपर्ने माग गरेको छ। ‘बिनाकारण जस्तो देखिएको’ नभाल्नीको कारावासबारे पनि आफूले बारम्बार सवाल उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
राष्ट्रसंघीय मानव अधिकार आयुक्त फोल्कर ट्यूर्कले गत वर्ष नभाल्नीलाई सुनाइएको लामो सजायले रुसले अदालती प्रणालीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको देखाएको बताए। “यदि कोही राज्यको हिरासतमा मर्छ भने त्यसका लागि राज्य जिम्मेवार हुने अन्तर्राष्ट्रिय मान्यता छ,” राष्ट्रसंघले भनेको छ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले नभाल्नी मृत्युमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दाबी गर्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए। नभाल्नीको मृत्युको घोषणापछि ह्वाइटहाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचम्मित र आक्रोशित’ तुल्याएको बताए।
“पुटिन जे थिएनन्, नभाल्नी त्यही थिए,” बाइडेनले नभाल्नीको विशेष क्षमताबारे उल्लेख गर्दै थपे, “गल्ती नगरौँ, नभाल्नीको मृत्युका लागि पुटिनले जिम्मेवार छन्।”
म्युनिखबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पुटिनको मृत्यु ‘पुटिनको क्रूरताको संकेत’ भएको बताइन्। जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नभाल्नीको मृत्यु रुसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताए।
बेलायतको विदेश मन्त्रालयले नभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रूपमा जिम्मेवार ठहर्याउन रुसी दूतावासलाई बोलाएको जनाएको छ।
यसैगरी बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले नभाल्नीको मृत्युको परिणाम रुसले भोग्नुपर्ने चेतावनी दिए। जर्मनीमा जारी म्युनिख सुरक्षा सम्मेलनमा क्यामरुनले भने, “रुसले यसको परिणाम बेहोर्नुपर्नेछ।”
लातभियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले ‘क्रेमलिनले नभाल्नीको निर्मम हत्या गरेको’ दाबी गरे। त्यसैगरी, फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले नभाल्नीको मृत्युले ‘पुटिन शासनको वास्तविकता सम्झना गराएको’ बताए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत दुई वर्षदेखि रुसी सेनासँग लडिरहेका बेला क्रेमलिनका आलोचकको हत्या भएको बताए।
सन् २०१४ मा सुनाइएको सजाय उल्लंघन गरेको आरोपमा नभाल्नी सन् २०२१ को फेब्रुअरीमा जेल परेका थिए। उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो।
नभाल्नीको शोकसभाबाट एक सयभन्दा बढी पक्राउ
रुसी प्रहरीले विपक्षी नेता नभाल्नीको स्मृतिमा राखिएको शोकसभामा जम्मा भएका १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानव अधिकारवादी समूहले शनिबार जनाएको छ।
क्रेमलिनका कट्टर आलोचक ४७ वर्षीय नभाल्नीको रुसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रुसी अधिकारीहरूले बताएका थिए। मृत्युको खबरले रुसभित्र र बाहिर रहेका नभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन् ।
ओभीडी–इन्फोका अनुसार रुसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गबाट ६४ सहित १० शहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ। राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर शहरमा ११ जनालाई हिरासतमा लिइएको छ।
रुसमा असहमति विरोधी कडा कानूनअन्तर्गत विरोध प्रदर्शन गैरकानूनी छ। अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने र्यालीमा कडाइ गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
