सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटको ईशनाथमा कर्फ्यु

सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि रौतहट प्रशासनले  ईशनाथ नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

काठमाडौँ– सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि रौतहट प्रशासनले  ईशनाथ नगरपालिकामा  कर्फ्यु आदेश जारी गरेको छ।  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच उत्पन्न विवाद र झडपलाई नियन्त्रणमा लिन अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेका हुन्।

बिहीबार ईशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति विसर्जनको क्रममा मोतीपुरमा दुई फरक समुदायका व्यक्तिहरूबीच झडप भएको थियो। सोही विषयलाई लिएर शनिबार साँझ फेरि घिउरामा दुई पक्षबीच विवाद र झडपको स्थिति उत्पन्न भएको थियो। बिहीबार साँझ भएको झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले यसले सर्वसाधारणको सुरक्षामा जोखिम पार्न सक्ने एवं शान्ति भंग हुन जाने स्थिति देखिएकाले ईशनाथ नगरपालिका विभिन्न क्षेत्रमा कर्फ्युको आदेश जारी गरिएको बताएका छन्। उनका अनुसार ईशनाथ नगरपालिकाको सीमा क्षेत्रभित्र अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

“सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जाने स्थिति देखिएकोले ईशनाथ नगरपालिका क्षेत्रका तपसिल बमोजिमको सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न एवं अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०५ गते बेलुका ०५: ०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ,” प्रमुख रेग्मीद्वारा जारी आदेशमा भनिएको छ।

पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको आदेशमा उल्लेख छ।