बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री महतले लघुवित्त र सहकारीका माध्यमबाट गरिबीलाई शून्यमा झार्न, लघुउद्यम र स्वरोजगार बनाउन तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताए।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताएका छन्। ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित शुरू भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै उनले नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको र जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताए। ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ–गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उनको भनाइ थियो।

अर्थमन्त्री महतले प्रजातन्त्र र लोकतन्त्र आएपछि लघुवित्त र सहकारीमा धेरै विकास भएको, गरिबीलाई शून्यमा झार्ने, स्थानीयस्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताए। उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे। “लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दै छ। बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन,” उनले भने, “बरु सरकारले विभिन्न सहजीकरण गरेको छ। ऋण त तिर्नैपर्छ। तिर्न पर्दैन भन्ने प्रवृत्ति परास्त हुन्छ।” 

लघुवित्तले अब आफ्नै उद्देश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अर्थमन्त्री महतको सुझाव थियो। लघुवित्तलाई नाफा कमाउने औजारको रूपमा नलिएर ग्रामीण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने पनि उनको आग्रह छ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन्। समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाइ थियो।

“आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न,  स्थानीय विकासलगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ, हामी सबैले यसको प्रशंसा गर्नुपर्छ”, तिम्सिनाले भनिन्, “आयआर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुण लगाएको छ।”

आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुआत भएकाले बाटो बिराएकाहरू सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए। नेपालमा तीन दशकअघिदेखि सेवा थालेका लघुवित्तले महिला, गरिब र विपन्नलाई एउटा युगबाट अर्कै युगमा लगेको उनको भनाइ थियो।

लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनले बताए। “यो बीचमा लघुवित्तमा केही समस्या देखियो । लघुवित्त संस्थालाई कम्पनी ऐनअनुसार चलाउन थालियो, शेयरधनीले बढी नाफामा लैजाने खालका क्रियाकलाप गरे, लाभांश बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरूको बाढी आयो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “लघुवित्तका सदस्यलाई हामीले शेयर होल्डर बनाएनौँ, त्यहाँ ठूलो गल्ती भयो, ऋण प्रवाह गर्दा पनि लापरबाही भयो, सरकारले नयाँ लाइसेन्स खुलायो झन् विकृति र विचलन आयो । अस्वस्थ प्रतिस्पर्धा भयो ।”

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तको क्षेत्र विषम परिस्थितिबाट गुज्रिएको समयमा भएको यो सम्मेलनको ठूलो महत्त्व राख्ने बताए। विश्वका अरू थुप्रै देशमा लघुवित्त सम्मेलन हुने गरेको तर लघुवित्त सदस्य सम्मेलन भने नेपालमा मात्रै हुने गरेको भन्दै यादवले नेपालमा लघुवित्तहरूले कसरी आफूलाई सुधार गर्दै छन् भन्ने राम्रो प्रमाण यो सम्मेलनलाई पनि लिन सकिने उनले बताए।

लघुवित्त अभियन्ता तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले आफू सांसद बन्नुमा लघुवित्तकर्मी महिला र गरिबहरूको योगदान रहेको बताए। सरकारले लघुवित्त सुधारका लागि विभिन्न नीति र भाषण गरे पनि व्यवहारमा लागू नभएको भन्दै मण्डलले लघुवित्तलाई देखाएर राजनीति गर्ने क्रम बढेको भन्दै असन्तुष्टि जनाए।

आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत आठ सयभन्दा धेरै सहभागी छन्।