नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः प्रेम सुवाल

प्रतिनिधिसभामा बोल्दै सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई सफाइ दिन नहुने बताएका छन्।

काठमाडाैँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न हुनेलाई कारबाही गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई सफाइ दिन नहुने बताएका हुन्। उनले संलग्नहरूलाई कारबाही गर्नुपर्ने बताए।

यस्तै, उनले भारतले नेपाललाई सूक्ष्म व्यवस्थापनका लागि सहयोगको नाममा हात हालिरहेको भन्दै यसतर्फ ध्यानाकर्षणसमेत गराए।

"भारतसँग नेपालको गोर्खा भर्ती, सुरक्षा मामिला, कालापानीमा भारतीय सेना, सुस्तामा नेपाली भूमि अतिक्रमण, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत सन्धि सम्झौताबारे विवाद यथावत छ। तर भारतकै पैसामा भारततिर प्रधानमन्त्री, मन्त्री, सांसदहरूको भ्रमण गइरहेको छ। नेपालसँग के प्रधानमन्त्रीको भ्रमणको लागि पैसा छैन? त्यसकारण यो रोक्न आवश्यक छ। भारतीय दूताबासबाट सोझै २० करोडको योजना छनौट पनि बन्द हुनुपर्छ," उनले भने।

उनले न्यायाधीश भागबण्डाको अन्त्य हुनुपर्ने पनि बताए। उनले नेपाल स्काउट र रेडक्रसमा भएको भ्रष्टाचार छानबिन गर्न पनि माग गरेका छन्।