बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छः प्रधानमन्त्री

उनले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्ने पनि बताए।

काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताए। प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरमा बालकुमारी घटनाबारे उठेका प्रश्नमा उनले जवाफ दिएका हुन्। उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्ने पनि बताए।

उनले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए। परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उनको भनाइ छ।

गत पुष १३ गते कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच बालकुमारीमा भएको झडपमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो। उक्त घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको थियो।