आफूले हात नपारेको सफलता दिलाउने लक्ष्यमा लुइस एनरिके

मुख्य प्रशिक्षक एनरिके आफैँ पनि स्पेनका पूर्वखेलाडी हुन्। सन् १९९४ र सन् २००२ को बीचमा उनले स्पेनका लागि विश्वकपसहित १२ ठूला प्रतियोगिता खेले।

स्पेन विपक्षी टोली कोस्टारिकासँग हारेको रेकर्ड छैन। र, मुख्य प्रशिक्षक लुइस एनरिकेले कतार विश्वकप अन्तर्गत समूह ‘ई’को पहिलो खेलमा कोस्टारिकाविरुद्ध फेरि एकपटक गल्ती नगर्ने अपेक्षा राखेका छन्। 

स्पेन र कोस्टारिकाबीचको यो खेल अल थुमामा स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजेदेखि शुरू हुनेछ। स्पेन र कोस्टारिका विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने यी दुई टोलीले तीनपटक खेलेका छन्।

स्पेन दुई खेलमा विजयी हुँदा एक खेल भने बराबरीमा सकिएको छ। पछिल्लो पटक सन् २०१७ मा यी दुई खेल्दा स्पेनले ५-० को फराकिलो जित निकालेको थियो।

सन् २००८ र २०१२ को बीचमा दुई युरोपियन च्याम्पियनसिप र ​​एक विश्वकप जितेको स्पेन त्यसपछि सहभागी भएको कुनै पनि प्रमुख प्रतियोगिताको फाइनलमा पुगेको छैन। तर, पेड्री र अन्सु फातीजस्ता युवाहरूको नयाँ पुस्ताले स्पेनलाई बलियो बनाएको छ।

मुख्य प्रशिक्षक लुइस एनरिकेले युवा खेलाडीमै बढी जोड दिँदै आएका छन्। उनले यसपटक विश्वकप खेल्ने टोलीमा सर्जियो रामोसजस्ता अनुभवी डिफेन्डरलाई समेटेका छैनन्। उनी अनुभवी र युवा खेलाडीको समिश्रण भएमात्रै टोली राम्रो हुने तर्क गर्छन्। “युवा खेलाडीसँगै अनुभवी पनि चाहिन्छ। यी दुवैको समिश्रण आवश्यक हुन्छ”, उनी भन्छन्।

सन् २००६ को संस्करणमा स्पेनको सबैभन्दा कान्छो विश्वकप गोलकर्ता २२ वर्षीय फर्नान्डो टोरेस थिए। तर, कतारमा धेरै खेलाडीहरूले यस रेकर्डलाई तोड्न सक्छन्।

मुख्य प्रशिक्षक एनरिके आफैँ पनि स्पेनका पूर्वखेलाडी हुन्। सन् १९९४ र सन् २००२ को बीचमा उनले स्पेनका लागि विश्वकपसहित १२ ठूला प्रतियोगिता खेले। यद्यपि, उनले खेल्दा स्पेनिस टोली क्वार्टरफाइनलसम्म पुग्न सकेनन्। मुख्य प्रशिक्षकको हैसियतमा उनले यसपटक स्पेनिस टोलीबाट योभन्दा बढी आशा राखेका छन्। यसपटकको कतार विश्वकपमा फाइनलसम्म पुग्ने उनले लक्ष्य राखेका छन्। “हाम्रो लक्ष्य कतारमा सात खेल खेल्ने हो”, उनले भने।

मुख्य प्रशिक्षक एनरिकेले स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड मार्को एसेन्सियोमाथि धेरै भरोसा गरेका छन्। जोर्डनविरुद्धको भएको मैत्रीपूर्णमा खेलमा प्रभावशाली प्रदर्शनपछि उनलाई एनरिकेले निरन्तरता दिने अनुमान गरिएको छ। उनी एसेन्सियोलाई लिएर सकारात्मक पनि देखिएका छन्। “उनी (एसेन्सियो) अर्को स्तरमा छन्, उत्कृष्ट। उनी जहाँ पनि खेल्न सक्छन्”, मुख्य प्रशिक्षक एनरिकेले भने।

स्पेनको प्रतिद्वन्द्वी कोस्टारिकाले रसिया विश्वकपका तीन खेलमध्ये दुईमा हार बेहोरेको थियो। समूह ‘ई’मा रहेको कोस्टारिकाले ब्राजिल र सर्बियासँग हार बेहोरेको थियो भने स्विट्जल्यान्डसँग २-२ को बराबरी खेल्दै अंक बाँडेका थिए। 

यद्यपि, कोस्टारिकालाई कमजोर आँकिहाल्ने अवस्था छैन। सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा इटाली, उरुग्वे, ग्रीस र इंग्ल्यान्डजस्ता बलिया टोलीको चुनौतीलाई पन्छ्याउँदै क्वार्टफाइनलसम्म स्थान बनाएको इतिहास छ, कोस्टारिकाको।

कोस्टारिकाका मुख्य प्रशिक्षक लुइस फर्नान्डो सुआरेजले आफ्नो स्पेनी प्रतिस्पर्धीको खेल्ने शैलीको प्रशंसा गरेका छन्। तर, आफ्नो टोली प्रतिस्पर्धात्मक प्रदर्शन गर्न तयार रहेको उनले बताए। 

“उनी (लुइस एनरिके) उत्कृष्ट प्रशिक्षक हुन्। जे भएपनि स्पेन सधैँ उस्तै खेल्छ”, मुख्य प्रशिक्षक सुआरेजले भने, “हामी लामो समयदेखि विश्वकपको एक मोडमा अभिएका छौँ। यसपटक केही गरेर देखाउने छौँ।”

प्लेयर टु वाच
फेरान टोरेस
स्पेन

फेरान टोरेसले कतार विश्वकपका लागि भएको छनोट चरणका खेलहरूमा स्पेनका लागि चार गोल गरेका थिए। दुई सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीमा बिताएर यसै सिजन क्याटलान क्लब बार्सिलोना पुगेका उनले ३१ गोलमा १३ गोल गरिसकेका छन्।

मुख्य प्रशिक्षक एनरिकेले बुधबार कोस्टरिकासँगको खेलमा पनि उनलाई मौका दिने आशा गरिएको छ।

ब्रायन रुइज
कोस्टारिका
रुइजले कोस्टारिकाका लागि ८ विश्वकप खेल खेलेका छन्। उनी सबैभन्दा धेरै विश्वकप खेल्ने क्रिस्चियन बोलानोसको रेकर्डभन्दा एकल प्रतियोगिताले पछाडि छन्। यदि ३७ वर्षीय रुइजले यस प्रतियोगितामा खेले भने कोस्टारिकाका लागि विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका खेलाडी बन्नेछन्।

-एजेन्सीको सहयोगमा