नेप्से दोहोरो अंकले घटेर २०३४.८२ को बिन्दुमा सीमित

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २७.२१ अंकले ओरालो लागेर २०३४.८२ को बिन्दुमा सीमित भएको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ अंकले ओरालो लागेर ३६५.२० मा सीमित भएको हो। कारोबार भएका कुल १३ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। कुल एक करोड सात लाख ७२ हजार ४८३ कित्ता शेयर तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ मूल्यमा कारोबार भयो।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो।

एनआईसी एशिया बैंक १३ करोड ६५ लाख ६४ हजार १४०, जोशी हाइड्रोपावर १० करोड १४ लाख १९२, सगरमाथा जलविद्युत् कम्पनी नौ करोड २७ लाख ९३ हजार ५९८ र युनियन हाइड्रोपावर सात करोड ६१ लाख १८ हजार १०७ मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। किसान लघुवित्त ८.२२, युनियन हाइड्रोपावर ६.६५ र आशा लघुवित्तका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाएका छन्। 

त्यस्तै, सामलिङ पावर ८.२१, दोर्दी खोला जलविद्युत् कम्पनी ६.१५, पाँचथर पावर कम्पनी ५.९१, वाराही हाइड्रोपावर ५.८२ र एनआईसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले ५.६१ प्रतिशतले गुमाएका छन्।