अन्तर्देशीय सीमा नदीको विषयलाई समुदायस्तरमा लैजान माग

अन्तर्देशीय नदी क्षेत्र व्यवस्थापनविज्ञ राजन सुवेदी नदीको संरक्षण र व्यवस्थापन टाढाको सरकारभन्दा प्रत्यक्ष प्रभावित समुदायले प्रभावकारी रूपमा काम गर्नसक्ने भएकाले उनीहरूलाई जिम्मा दिनुपर्ने बताउँछन्।

काठमाडौँ–  सरोकारवालाले अन्तर्देशीय सीमा नदीको विषयलाई समुदायस्तरमा लैजान माग गरेका छन्। 

विश्व सामाजिक मञ्चको काठमाडौँ जारी सम्मेलनमा नेपाल—भारतका गैरसरकारी क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरूले एकभन्दा बढी देश भएर बग्ने नदीबारे समुदायले समेत काम गर्ने गरी संयन्त्र बनाउन आवश्यक रहेको बताएका हुन्।

नदीको जलाधार क्षेत्रदेखि तटीय क्षेत्रसम्म रहेका समुदाय नदीजन्य क्रियाकलापमा प्रत्यक्ष प्रभावित हुने भएकाले यसको व्यवस्थापन ती समुदायले राम्रोसँग गर्न सक्ने उनीहरूको भनाइ थियो। छलफलमा अन्तर्देशीय नदी क्षेत्र व्यवस्थापनविज्ञ राजन सुवेदीले अन्तर्देशीय नदीबारे विश्वभर विवाद रहेको र यसको प्रत्यक्षमा नदी जलाधार क्षेत्र र तटीय क्षेत्रमा बस्ने समुदायले भोगिरहेको बताए। 

देश-देशबीच नदी स्रोतको विवाद र देशभित्रको सरकारको प्राथमिकतामा समुदायको विषय नपर्ने भएकाले अन्तर्देशीय समुदायको संयन्त्र बनाउन आवश्यक रहेको उनको तर्क थियो। नदीको संरक्षण र व्यवस्थापन टाढाको सरकारभन्दा प्रत्यक्ष प्रभावित समुदायले प्रभावकारी रूपमा काम गर्न सक्ने भएकाले उनीहरूलाई जिम्मा दिनुपर्ने सुवेदीले उल्लेख गरे।

नेपालका धेरै नदी भारतीय सीमा क्षेत्रमा जान्छन्। नेपालका नदीले भारतका नदी क्षेत्रका बासिन्दा बर्सेनि प्रभावित हुने गरेका छन्। अन्तर्देशीय नदी प्रणाली व्यवस्थापनविज्ञ मुकुन्द उपाध्याय (भारत)ले अन्तर्देशीय सीमा नदी र नदीजन्य विपद्को कारण रहेको बताए। उनले नेपाल–भारत जस्ता देशमा विपद् पूर्वसूचना प्रणाली कमजोर रहेकोले समुदायस्तरको सहकार्य बढाउन आवश्यक रहेको औँल्याए।

उनले समुदायस्तरको सूचना आदानप्रदानले सम्भावित जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। दक्षिण एशियाली मुलुकको नदी सम्बन्ध पानीको प्रयोगसँगै गहिरो सांस्कृतिक सम्बन्धमा समेत आधारित रहेको बताए। नदी सीमालाई समुदायस्तरको सहकार्य र समन्वयमा व्यवस्थित र बहुउपयोगी बनाउन अन्तर्देशीय सीमा नदी क्षेत्रमा बसोबास गर्ने समुदायको छुट्टै संयन्त्र बनाएर काम गर्नुपर्ने उनको भनाइ छ।

नेपाल, भारत, भुटान, बांग्लादेश एकै प्रकारका अन्तर्देशीय नदी सीमासँग जोडिएका देश हुन्। नदीको जलाधार क्षेत्रमा हुने परिवर्तनले सबै देश कुनै न कुनै रूपमा प्रभावित छन्। हिमालय क्षेत्रमा जलाधार भएका सबै नदीमा दक्षिण एशियाली देशको चासो रहने गरेको छ। 

विश्वमा लगभग २७६ वटा अन्तर्देशीय सीमा नदीहरू रहेका छन्। करिब १४५ देशका ३ अर्बभन्दा बढी मानिस नदी तटीय क्षेत्र र जलाधार क्षेत्रमा बसोबास गर्दछन्। जलवायु परिवर्तनले यी नदी क्षेत्रका बासिन्दा हर समय कुनै न कुनै रूपमा प्रभावित भइरहेका छन्।