नभनीत र निखिलको अर्धशतकमा नेपाल ‘ए’माथि क्यानडाको जित

नभनीत धालिवाल र निखिल दत्तको अर्धशतकप्रेरित क्यानडा ११ ले एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ।

काठमाडौँ– नभनीत धालिवाल र निखिल दत्तको अर्धशतकप्रेरित क्यानडा ११ ले तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा क्यानडा ११ ले नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो।

नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै २१८ रन बनाएको हो।

क्यानडा ११ का लागि नभनीतले ७६ बलमा १० चौका र २ छक्कासहित ८० रन प्रहार गरे। ११५ बलमा ५ चौका १ छक्कासहित ६७ रन बनाएका निखिल अविजित रहे।

श्रेयस मोभ्भा २३ रनमा अविजित रहँदा कप्तान साद बिन जाफर २३ रनमा पेभिलियन फर्किए। क्यानडा ११ का अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपाल ‘ए’ का शहब आलमले २ विकेट लिए। प्रतिश जीसी, राशिद खान, सागर ढकाल र बसिर अहमदको नाममा १/१ विकेट रह्यो।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २१६ रन बनाएको थियो।

नेपाल ‘ए’का लागि बसिर अहमदले अविजित रहँदै ५५ बलमा ३ चौका र १ छक्कासहित ५० रन बनाए। राशिद खान ४०, मायंन यादव ३५, किरण ठगुन्ना २५, विवेक यादव २१ र सन्दीप जोरा १४ रनमा आउट हुँदा शहब आलम २ रनमा अविजित रहे।

क्यानडा ११ का साद बिन जाफरले ३ विकेट लिए। ईश्वरजजीत सोहीले २ विकेट लिँदा डिलन हेलिगर, हर्ष थाकेर र शाहिद अहमदजाईको नाममा १/१ विकेट रह्यो।