सांसद भन्छन्– मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ

सांसदले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने, उनले त्यसो नगरे प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका छन्।

काठमाडौँ– सांसदले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसदहरूले सरकारले गठन गरेको छानबिन समितिले मन्त्री ज्वालालाई पनि दोषी देखाएकाले उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले तुरुन्त पदबाट बर्खास्त गर्नुपर्ने सांसदहरूको माग छ। 

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा उक्त घटनामा मन्त्री ज्वालाको पनि दोषी देखिएको औँल्याएको खबर आइरहेको छ। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

आइतबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मन्त्री ज्वालाको गल्ती प्रमाणित भइसकेको भन्दै नैतिकताको आधारमा पदमा बसिराख्न नमिल्ने बताए। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि अख्तियारको छानबिनमा परेको भन्दै उनले पनि राजीनामा दिनुपर्ने बताए। “भौतिकमन्त्री र स्वास्थ्यमन्त्रीलाई कि त बर्खास्त गर्नुपर्‍यो कि राजीनामा दिनुपर्‍यो,” उनले भने।

उनले दाहाल नेतृत्वको सरकारका मन्त्रीहरू सुशासनको निम्ति असफल भइसके दाबी गरे। उनले भने, “सिंगो सरकार नै सुशासनको निम्ति असफल भइसक्यो। भ्रष्टाचारको निम्ति यसले नेपालको इतिहासको रेकर्ड तोड्नेवाला छ। यो सरकारबाट सुशासनको आशा गर्नु बेकार छ।”

नेकपा एमाले सांसद रघुजी पन्तले विगतदेखि नै अख्तियारको छानबिनमा परेका मन्त्रीले राजीनामा दिने प्रचलन रहेको भन्दै स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिनुपर्ने बताए। त्यस्तै, भौतिक पूर्वाधार मन्त्रीको राजीनामा पनि आफूहरूको अडान रहेको स्पष्ट पारे।

“हाम्रो सचेतकले स्वास्थ्यमन्त्रीको राजीनामा पनि माग्नुभएको छ। प्रकाश ज्वालाजीको पनि राजीनामा माग्नुभएको छ। हाम्रो अडान पनि त्यही हो। पञ्चायतकालका मन्त्रीदेखि आजसम्म अख्तियारमा बयान दिन जानुपर्‍यो भने सबैभन्दा पहिला उनीहरूले राजीनामा गर्ने हो। राजीनामा गर्न मान्दैनन् भने प्रधानमन्त्रीले तुरुन्त उनीहरुलाई पदबाट हटाउनुपर्छ,” उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले पनि भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा माग गरे। राजीनामा नआएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पनि मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा सत्तामा बस्नेहरूसँग नैतिकता नभएको टिप्पणी गरे। उनले ललितानिवास जग्गा प्रकरणमा अदालतले गरेको फैसला प्रशंसनीय भएको बताए। उनले यसलाई आफूले सकारात्मक रूपमा लिएको लिएको पनि बताए।

“न्यायालयले अहिले ठीकै गरेको छ। न्यायमूर्ति न्यायपालिकाको सिद्धान्तअनुसार भर्ना हुनुपर्‍यो। ‘सेटिङ’मा हुनु भएन नि। ललितानिवास जग्गा प्रकरण। राज्यको नाममा आएको छ सकारात्मक रुपमा लिएको छु। अदालतको फैसला प्रशंसनीय छ,” उनले भने।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले राज्यको सम्पत्ति अनाधिकृत रूपमा भोगचलन गर्नेहरूलाई कारबाही गर्न पहल लिइरहेको बताए। उनले सरकार सुशासन कायम गर्न लागि परेको बताए।