दूरसञ्चार प्राधिकरण अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

सञ्चारमन्त्री शर्माले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको पनि बताइन्।

काठमाडौँ– सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी र नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने निर्णय भएको पनि बताइन्।

बैठकले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। 

त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति (एलपीआर) लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट उनलाई हटाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। 

त्यस्तै, बैठकले राष्ट्रिय प्रसारण १२औँ संशोधन नियमावली, २०८० स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। 

त्यस्तै, बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिएको छ। उनले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको बताइन्।