मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउनेबारे एकीकृत समाजवादीमा छलफल

बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा एकीकृत समाजवादीले निर्णय लिने भएको छ।

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो। पार्टीको आइतबारको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भएको थियो। आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। 

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको आशय उनले व्यक्त गरे।