बलम्बुमा गोली चल्दा प्रहरी निरीक्षकका अंगरक्षकसहित २ जना घाइते

प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुई जना घाइते भएका छन्।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– काठमाडौँको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट आइतबार गोली चल्दा दुई जना घाइते भएका छन्।

ड्युटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट एक राउन्ड गोली चलेपछि गोली लागेर प्रहरी निरीक्षक श्रेष्ठका अंगरक्षक घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले जानकारी दिए। अंगरक्षकको खुट्टामा गोली लागेको छ।

उक्त घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन्। दुवै जनाको अवस्था खतरामुक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बताए।

नियतवश घटना भएको नभई केही लापरबाही देखिएको उल्लेख गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिइसकेको बताए।