सुदूरपश्चिम तथा कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।

काठमाडाैँ– हाल देशभरको मौसममा केही बदली रही सामान्यतया सफा रहेको छ। 

सोमबार दिनभर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको माैसममा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।