‘नीति अधिवेशन’का रूपमा लिइएको कांग्रेस महासमितिको बैठक सोमबारदेखि

महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुनेछ।

काठमाडौँ– देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य रहेको नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा शुरू हुँदैछ। विसं २०७८ मंसिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य संघीय राजधानी आइपुगेका छन्।

प्रतिनिधिसभामा अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई चासोका साथ हेरिएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबार दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 'राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता! स्वतन्त्रता, न्याय र समानता!! नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता।,' भन्ने मूल नाराका साथ शुरू हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ।

महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ।

यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउन लागिएको छ।