लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवाउद्यमी बनाउन सहयोग गर्ने लगायत बुँदा घोषणापत्रमा समेटिएका छन्
काठमाडौँ– ‘चौँथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौँमा सम्पन्न भएको छ। घोषणापत्रले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ। त्यस्तै घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई मूर्त रूप दिने कुरा उल्लेख छ।
लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख छ।
लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवाउद्यमी बनाउन सहयोग गर्ने, वातावरणमैत्री र उद्यमशील समाज बनाउनको लागि युवा परिचालन गर्ने, वातावरण अनुकुलता प्रवर्द्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने घोषणापत्रमा उल्लेख छ।
समापन समारोहमा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेकोले यस्तो अवस्थामा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेर गएको बताए। "लघुवित्त क्षेत्रले प्रत्यक्ष रुपमा समुदायमा रहेर काम गर्दै आएका छन्, यस क्षेत्रले वित्तीय अनुशासन पालना गर्दै सदस्यको हितमा रहेर काम गरेको अवस्थामा विपन्न नागरिकको अवस्थामा सुधार ल्याउन सहयोग पुग्छ," उनले भने, "अहिले यस क्षेत्रमा आएका विचलनलाई रोक्नको लागि गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई संरक्षण गर्न राज्य जवाफदेही बन्नुपर्छ।"
उनले लघुवित्त क्षेत्रलाई राजनीतिकरण गरेर यसकै नाममा आन्दोलन गर्ने क्रम बढेकोले यस्ता प्रवृत्ति रोक्न सबै पक्ष सहज रहनुपर्ने बताए।
प्रतिनिधिसभाका सांसद भगवती चौधरीले ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको अवस्थामा झण्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताइन्। उनले गरिबी न्यूनीकरणमा लघुवित्त क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको भन्दै लघुवित्तले विपन्न नागरिकको सारथी बनेर काम गर्नुपर्ने बताइन्।
"अहिले लघुवित्त क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसको कारण लघुवित्त क्षेत्र विपन्नको हित र सामाजिक उत्तरदायित्वबाट बाहिर आउन खोज्दा आएको हो," उनले भनिन्।
लघुवित्तको संख्या आवश्यकता भन्दा बढी हुनु, अधिक कर्जा प्रवाह हुनु, कर्जा लगेका सदस्यले कर्जा फिर्ताको दायित्व नसम्झनु लगायतका समस्या अहिले देखिएको उनको भनाइ थियो। उनले खराब आचरण भएका वित्तीय संस्थालाई कारबाही गर्नुपर्नेमा समग्र वित्तीय क्षेत्रको अवस्था एउटै भएको दुष्प्रचार गर्ने अभियानै चलाइएको भन्दै यस्ता पक्षलाई सरकारले कारबाही गर्नुपर्ने बताइन्।
कार्यक्रममा इनरुवा नगरपालिकाकी उप प्रमुख विनिता मेहताले लघुवित्तले महिलाको आर्थिक हैसियतदेखि नेतृत्व विकासमा समेतमा सहयोग गर्ने बताइन्। आफू २०६२ सालदेखि लघुवित्तको अभियानमा लागेको र आफू जोडिएको संस्थाले उत्कृष्ट काम गर्दै आएको उनको दाबी छ।
"विशेष गरी महिलाहरूलाई लघुवित्तले गर्दै आएको सहयोग महत्त्वपूर्ण छ, मैले आज जुन उचाइ हासिल गरेको छु, त्यसमा पनि लघुवित्तको भूमिका छ," उनले भनिन्।
समापन कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको र घोषणापत्रमा उल्लेख गरिएका कुराहरूलाई समुदायस्तरमा गएर लागू गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
सम्मेलनको दोस्रो दिन लघुवित्तमा देखिएका समस्याको पहिचान र त्यसको समाधानका विषयमा विषयगत छलफल समेत भएको थियो। त्यस्तै तीन शून्य क्लबो अभ्यासका विषयमा पनि छुट्टै सत्र सञ्चालन गरिएको थियो।
समापन कार्यक्रममा उत्कृष्ट लघुवित्तकर्मी तथा लघुवित्त संस्थालाई पुरस्कार वितरण गरिएको थियो। यस वर्षको संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट भएर जीवन विकास लघुउद्यम वित्तीय संस्था लिमिटेड पुरस्कृत भएको छ। जीवन विकासले १ लाख रुपैयाँ नगद प्राप्त गरेको छ।
त्यस्तै तीन शून्य क्लब प्रवर्द्धन गर्ने विभिन्न क्लब, कर्मचारी तथा संस्थालाई पुरस्कृत गरिएको छ। सो अवसरमा ‘घरघरमा उद्यमशीलता विकास’ अभियानमा उत्कृष्ट भूमिका निर्वाह गर्ने संस्था तथा कर्मचारी, अति विपन्नको उत्थानमा सहयोग गर्ने कर्मचारी तथा संस्था, उत्कृष्ट केन्द्र प्रमुखलाई सम्मान गरिएको थियो।
फागुन ५ र ६ गते दुई दिनसम्म चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो। सम्मेलन हरेक दुई/दुई वर्षमा हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
