राष्ट्रिय स्वाधीनता खुम्चिने खतरा कायमै छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने या दुर्घटनामा पर्ने खतरा कायमै रहेको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायमै रहेको बताएका छन्। सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। 

उनले राजनीतिक परिस्थिति वा शान्तिप्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरू, राजनीतिक, वैचारिक वर्गसंघर्ष सबैलाई एकै ठाउँमा राखेर हेर्दा राष्ट्रिय स्वाधीनतामा अझ बढी खुम्चिने या दुर्घटनामा पर्ने खतरा भएको बताए।  

“राजनीतिक परिस्थिति या शान्तिप्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरू, राजनीतिक, वैचारिक वर्गसंघर्ष सबैलाई एकै ठाउँमा राखेर हेर्ने हो भने हरेक क्षेत्रमा यो परिवर्तन अब समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर, दलालको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधीनतामा अझ बढी खुम्चिने या दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो? यो लडाइँ सर्वत्र छ भनेर म तपाईंहरूलाई भन्न चाहन्छु,” उनले भने।   

उनले ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादोन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको बताए। उनले देश सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठीक छैन, शिक्षा सुधार ठीक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गरे।