वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी

वीरगन्जमा आयोजित विरोध जुलुसका क्रममा दुई पक्षबीच विवाद र झडप भई सर्वसाधारणको सुरक्षामा जोखिम एवं शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

काठमाडौँ– स्थानीय प्रशासनले पर्साको वीरगन्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले सोमबार बेलुका ५ बजेबाट लागू हुने गरी वीरगन्जमा कर्फ्युको आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वीरगन्ज महानगरपालिकाका सीमा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्।

फागुन ३ गते रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जन गर्ने विषयमा विवाद र झडप भएको थियो। सोही विषयलाई लिएर सोमबार वीरगन्जमा विरोध प्रदर्शन गरिएको थियो। विरोध प्रदर्शनका क्रममा दुई पक्षबीच फेरि झडप भएपछि कर्फ्युको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन्।

वीरगन्जमा आयोजना गरिएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा जोखिम पर्ने एवं शान्ति भंग हुने स्थिति देखिएकाले वीरगन्ज महानगरको सीमा क्षेत्रभित्र कर्फ्यु लागू गरिएको उनले जारी गरेको आदेशमा भनिएको छ।

पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ परवानीपुर, दक्षिणतर्फ मित्तेरीपुल (भन्सार क्षेत्र)लाई सीमा कायम गरेर जिल्ला प्रशासनले कर्फ्यु लागू गरेको हो।

“सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्‍याली गर्न एवं अन्य कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने गरी मिति २०८०/११/०७ गते बेलुका ५:०० बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. बमोजिम कर्फ्यु आदेश जारी भएको छ” प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको आदेशमा भनिएको छ। प्रशासनले आदेशको बर्खिलाप भएमा कानूनबमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ।