एशियाली छनोट प्रतियोगिताका लागि छानिए ७ तेक्वान्दो खेलाडी

नेपाल तेक्वान्दो संघले मार्च १५ देखि १७ सम्म चीनको ताईयाङ शहरमा आयोजना हुने एशियाली छनोट प्रतियोगितामा सहभागी हुन खेलाडी छनोट गरेको हो।

काठमाडौँ– नेपाल तेक्वान्दो संघले फ्रान्सको पेरिसमा आयोजना हुने आगामी ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका छनोट खेलका लागि तेक्वान्दो खेलाडी छानेको छ।

संघले सोमबार विश्व तेक्वान्दो महासंघ (डब्लूटी)को कार्यक्रमअनुसार आगामी मार्च १५ देखि १७ सम्म चीनको ताईयाङ शहरमा आयोजना हुने एशियाली छनोट प्रतियोगितामा सहभागी हुन खेलाडी छनोट गरेको हो।

ग्यरोगी विधातर्फ महिला ४९ केजीमुनिमा नेपाल प्रहरीकी अन्जली तामाङ र महिला ६७ केजीमुनि नेपाल प्रहरीकी इन्दिरा बस्नेत छनोट भएको संघले जनाएको छ।

पुरुष ५८ केजीमुनि नेपाली सेनाका राहुल कुमाल र पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका वीरबहादुर महरा छनोट भएका छन्। 

त्यस्तै, पारा तेक्वान्दोतर्फ (के.४४) क्याटेगोरी अनुसार महिला ५७ केजीमुनि पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भ्लोन छनोट भएको संघले जनाएको छ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको छनोटमा ३८ खेलाडी सहभागी रहेको संघले जनाएको छ।