एमएम कप राष्ट्रिय क्रिकेट: मधेश प्रदेश दोस्रो पटक ‘च्याम्पियन’

सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै मधेश दोस्रोपटक च्याम्पियन बन्न सफल भयो।

काठमाडाैँ– मधेश प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै मधेश दोस्रो पटक च्याम्पियन बन्न सफल भयो।

यसअघि मधेशले पहिलो संस्करणको उपाधि जितेको थियो। च्याम्पियन बनेको मधेशले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरपश्चिमले ५० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझायो। खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम २०.२ ओभरमा ८६ रन जोडेर ‘अलआउट’ भयो। सुदूरपश्चिमलाई सस्तैमा रोक्न मधेशका बलर धीरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिए।

सुदूरपश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। मधेशका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक/एक विकेट लिए। उपाधिका लागि ८७ रनको लक्ष्य मधेशले २० ओभरको चौथो बलमा पाँच विकेट गुमाएर भेटाउन सफल भयो। शुरूआती चरणमा मधेशको ब्याटिङ धरमराए पनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो।

सुदूरपश्चिमका लागि डम्बर माझीले दुई, निराजन गौतम र नीरज ऐरले समान एक/एक विकेट लिए। गत माघ २८ गतेदेखि शुरू भएको प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए। उनल प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिएका थिए। प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिएका सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित भए।

मधेश प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल भए। उनले १५२ रन बनाएका थिए। प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रतिनिधिसभाका सांसद एवं सेन्टरका अध्यक्ष ठाकुर गैरे, पूर्वमन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री लगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए। ‘वन डे फर्म्याट’ अन्तर्गत २५ ओभरको ‘लिग कम नकआउट’मा खेल खेलाइएको थियो। प्रतियोगितामा मधेश र सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र आयोजक मनमोहन मेमोरियलले सहभागिता जनाएका थिए।