पुंगीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन्। भरतपुर महानगरपालिकाले सीमांकन तथा संरक्षणको काम शुरू गरेको छ।
चितवन– भरतपुरको मुख्य शहरी क्षेत्र भएर बग्ने पुंगीखोला अतिक्रमणको चपेटामा परेको छ। भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमांकन तथा संरक्षणको काम शुरू गरेको हो।
महानगरपालिकाले पुंगीखोला सीमांकन तथा संरक्षण समितिसमेत बनाएको छ। अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ। आधाभन्दा बढी नापजाँच गर्दा पुंगीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताए। उनका अनुसार पुंगीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन्।
दियालो फुडल्याण्डले पुंगीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कट्ठा जमिन अतिक्रमण गरेको उनले बताए। “हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन। प्रारम्भिक अनुमान गर्दा दुई कट्ठा हाराहारीमा अतिक्रमण भएको छ,” उनले भने। पर्खाल र टपमात्र पर्ने घरहरूको संख्या धेरै रहेको उनले बताए।
खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ। तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन्। सीमांकनको काम एक महिनाभित्र सकिने उनले बताए।
भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए। उनी हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुंगीखोला फराकिलो हुँदै बग्दथ्यो। आजभोलि त्यो फराकिलो खोला देख्न नपाएको बताउँछन् उनी।
“यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो,” पूर्वशिक्षकसमेत रहेका गुरुङले भने, “अहिले ठुल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन्।” स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
भरतपुर महानगरपालिका–११ गणेशधामबाट शुरू हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ। साढे छ किलोमिटर लामो यो खोला सबैभन्दा बढी वडा नं २ मा मिचिएको छ। रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नं ३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ।
भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ। भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउँछन्। उनका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ। यो खोलाको चौडाइ एकनासको छैन।
सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपीआई कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन। यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत संकलन गर्ने एकखालको मौखिक सहमति भएको छ। अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताए।
महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुंगीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ। अहिले गणेशस्थानबाट कामसमेत शुरू भएको छ। प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ।
गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्यान्डलगायतका संरचना बन्नेछन्। खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना बताउँछन्। “खोला अतिक्रमण कसैले गर्न पाउँदैन। बनेका संरचना छन् भने सबै हटाइन्छ,” उनले भने, “वडाको भवन बनेको भए पनि भत्किन्छ।”
तलाउ निर्माण कार्य ६६ लाख रुपैयाँमा सक्ने गरी कायाक कन्स्ट्रक्सनले जिम्मा लिएको छ। तलाउ निर्माणपश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
