रामधुनीमा रोकियो नित्य पूजा, कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाएको पुजारीको आरोप

मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो।

सुनसरी– भगवान रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको छ।

मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो। मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार डिल्ली कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाई पूजाआजामा रोक लगाएको हो।

रामधुनी मन्दिरका महन्त काशीदास उदासीले गुठी संस्थानको अधिनस्थ रहेको अधिकार प्राप्त मठलाई बेवास्ता गर्दै रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन नामको समितिका अध्यक्ष कार्की नेतृत्वको समूहले मन्दिरमा ताला लगाएर पराम्परागत रूपमा हुँदै आएको पूजा रोकेको खुलासा गरे। रामधुनी मन्दिरको इतिहासमै पहिलो पटक नित्य पूजा रोकिएको बताएका उदासीले त्यसबेला तीन दिनसम्म रोकिएको नित्यपूजाबारे समितिको धाकधम्कीका कारण बोल्न नसकेको भन्दै बाध्य भए पश्चात ढिलै भए पनि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको बताए।

बाबा बनखण्डी उदासीन आश्रम रामधुनी गुठी, पञ्चायती उदासीन बडाअखडा सुनसरी ४ रामधुनीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुठीका अध्यक्ष मोहिनारायण चौधरीले कार्की नेतृत्वको समितिले गौशालामा रहेका गाईवस्तु बेचेको, पुरातात्विक महत्व बोकेका बोटबिरुवा सहितको रुख काटेर बेच्ने काम गरेको र जथाभावी कंकृटका संरचना निर्माण गरी रामधुनीको अस्तित्व धुमिल्याउने कार्य गर्दै आएको आरोप लगाए। उनले कार्कीउपर धार्मिक संस्थाका नाममा एनजीओ  चलाउँदै आएको आरोपसमेत लगाएका छन्।

नेपाल सरकार गुठी संस्थानले रामधुनी मठ सुनसरीका नाममा मठ परिषद्को २२ हेक्टर र सो वरिपरीको धार्मिक वन ६११ हेक्टर लगायतको आसपासको जग्गा मठको नाममा रामधुनी गुठी तैनाथी जग्गा दर्ता गरिदिने व्यवस्थाअनुसार मठका नाममा धार्मिक तथा सांस्कृतिक संरक्षण गर्ने गरी दर्ता गर्ने आदेश दिए अनुसार मठ गुठी संस्थानको अधिनस्थ हुँदाहुँदै रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले अनाधिकृत रूपमा हस्तक्षेप गरेको पत्रकार सम्मेलनमा बताइएको छ। उता आरोप लगाइएका समितिका अध्यक्ष डिल्ली कार्कीले भने आफूमाथि लगाइएको आरोप सरासर निराधार र झुटो भएको बताका छन्।