नाभाल्नीकी श्रीमतीले भनिन्,– पुटिनविरुद्धको लडाइँ रोकिने छैन

युलिया नाभेलनायाले सोमबार पुटिनको शक्ति विरुद्ध आफ्नो पतिको लडाइँ जारी राख्ने घोषणा गरेकी हुन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विपक्षी तथा आलोचक एलेक्सी नाभाल्नीको मृत्युपछि उनकी श्रीमतीले यो लडाइँ नरोकिने बताएकी छन्।

युलिया नाभेलनायाले सोमबार पुटिनको शक्ति विरुद्ध आफ्नो पतिको लडाइँ जारी राख्ने घोषणा गरेकी हुन्। उनले ‘स्वतन्त्र, शान्तिपूर्ण र सुखी रुसका लागि लडाइँलाई अझ बलियो बनाउने’ बताइन्।

सधैँ ‘लो प्रोफाइल’मा बस्न रुचाउने युलिया आफूलाई श्रीमती र आमा भएकाले राजनीतिमा नलागेको बताउँथिन्। तर आफ्नो श्रीमानको मृत्युपछि आफू राजनीतिक भूमिकामा आउन सक्ने उनले संकेत गरेकी छन्।

४७ वर्षीया युलियाले युट्युबमा एउटा भिडियो जारी गर्दै नाभाल्नीलाई आर्कटिक जेलमा विष खुवाइएको र जेलमै अचानक मृत्यु भएको आरोप लगाएकी छन्।

"म यो भिडियोमा हुनुहुँदैनथ्यो। मेरो ठाउँमा अर्को मान्छे हुनुपथ्र्यो। तर उनलाई (नाभाल्नी) भ्लादिमिर पुटिनले मारे। तीन दिन अघि पुटिनले मेरो श्रीमान एलेक्से नाभाल्नीको हत्या गरेका थिए," भिडियोमा उनी भन्छिन्, "पुटिनले मेरा छोराछोरीको बुवाको हत्या गरे। पुटिनले मबाट मेरो लागि सबैभन्दा मूल्यवान, मेरो सबैभन्दा नजिकको व्यक्ति, जसलाई मैले सबैभन्दा धेरै माया गरेको थियो, खोसे। पुटिनले एलेक्सीलाई तीन दिनअघि किन मारेका थिए, त्यो छिट्टै खुल्नेछ। यो अपराध कसले र कसरी गर्‍यो भन्ने थाहा हुनेछ। म तिनीहरूलाई तिम्रो अगाडि ल्याउनेछु।”

उक्त भिडियोमा उनी अगाडि भन्छिन्, "म अलेक्सी नाभाल्नीको कामलाई अगाडि बढाउनेछु। म यो देशको लागि लडिरहनेछु र तपाई पनि मेरो साथमा उभिन अनुरोध गर्दछु। म तपाईंसँग मेरो दुस्ख मात्र बाँडिरहेको छैन, तर म चाहन्छु कि तपाईंले आफ्नो क्रोध मसँग साझा गर्नुहोस्, हाम्रो भविष्य बर्बाद गर्न खोज्नेहरू विरुद्धको क्रोध।"

राजनीतिक कैदीका रूपमा रुसको आर्कटिकमा १९ वर्षको जेल सजाय भोगिरहेका ४७ वर्षीय नाभाल्नीको गत शुक्रबार जेलमै मृत्यु भएको थियो। जेल अधिकारीहरूले उनको अचानक मृत्यु भएको बताउँदै आएका छन्। तर विश्वव्यापी रूपमा उनको मृत्युको पछाडि पुटिनको हात भएको आवाज उठिरहेको छ। तर रुस सरकारले भने यसलाई अमान्य बताएको छ।

रुसी सरकारले नाभाल्नीको शव दुई हप्तापछि मात्र उनको परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ। अहिले उनको शरीरमा रासायनिक विश्लेषण भइरहेको नाभाल्नीका प्रवक्ताले बताएका छन्।