फ्रान्सका हर्नान्डेजले विश्वकपका बाँकी खेल गुमाउने

समूह ‘डी’ अन्तर्गत मंगलबार राति सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा फ्रान्सले ४–१ को जित हात पारेको थियो। उनी सोही खेलमा घाइते भएका हुन्।

फ्रान्सका लेफ्ट ब्याक लुकास हर्नान्डेजले कतारमा जारी विश्वकप २०२२ का बाँकी खेल गुमाउने भएका छन्। दाहिने घुँडामा लागेको चोटका कारण २६ वर्षीय हर्नान्डेजले विश्वकपका बाँकी खेल गुमाउने भएका हुन्।

समूह ‘डी’ अन्तर्गत मंगलबार राति सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा फ्रान्सले ४–१ को जित हात पारेको थियो। उनी सोही खेलमा घाइते भएका हुन्।

खेलको १३औँ मिनेटमै चलिरहँदा उनी मैदानबाट बाहिरिएका थिए। उनलाई आफ्नै भाइ थियो हर्नान्डेजले प्रतिस्थापन गरेका थिए।

खेलपछि फ्रान्सका मुख्यप्रशिक्षक डिडिएर डेसच्याम्पले भने, “उनले केही परीक्षण गर्नुपर्छ। तर, यो चोट निकै गम्भीर देखिन्छ।”

चोटका कारण विश्वकप गुमाउने उनी फ्रान्सेली टोलीका चौथो खेलाडी हुन्। यसअघि चोटका कारण स्टार फरवार्डद्वय करिम बेन्जेमा, क्रिस्टोफर एनकुकु, डिफेन्डर प्रेसनल किम्बेम्पे बाहिरिएका थिए।

त्यस्तै, चोटकै कारण मिडफिल्डफिल्डरद्वय पाउल पोग्बा र एनगोलो कान्टेले १६ सदस्यीय टोलीमा स्थान बनाउन सकेका थिएनन्।

हर्नान्डेजको यो चोटले विश्वकप उपाधि रक्षा गर्ने योजनासहित कतार उत्रिएको फ्रान्सलाई धक्का लागेको छ।

हर्नान्डेजले सन् २०१८ मार्चमा कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलसँगै फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। उनले फ्रान्सबाट ११ खेल खेलिसकेका छन्।

 फ्रान्सले आफ्नो दोस्रो खेलमा शनिबार डेनमार्कको सामना गर्नेछ।