बैंकमा सर्वसाधारणको रकम पूर्ण रूपमा सुरक्षित छ : राष्ट्र बैंक

दुष्प्रचार गर्ने कार्यका पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोवरवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको र भ्रमका पछि नलाग्न अनुरोध गरेको छ। केन्द्रीय बैंकले मंगलबार विज्ञप्तिमार्फत बैंकलक्षित भ्रामक टीकाटिप्पणीको खण्डन गर्दै बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको हो।

बैंकको ऋण तिर्न नसकेपछि दुर्गा प्रसाईंले पछिल्लो समय एनआईसी एशिया बैंकलाई लिएर अफवाह फैलाएका थिए। त्यसैलाई लिएर राष्ट्र बैंकमातहत रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

“बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ,” राष्ट्र बैंकले भनेको छ।

बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यका पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोवरवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू केन्द्रीय बैंकको निर्देशनअनुरूप नै रहेको पनि उसले जनाएको छ। कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा राष्ट्र बैंकले समय समयमा आवश्यक निर्देशक दिई सुधार गराउँदै आइरहेको छ। 

“बैक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ,” विज्ञप्तिमा भनिएको छ।

बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्डसमेत रहेको राष्ट्र बैंकले जनाएको छ। नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकलाई कानूनले स्पष्ट जिम्मेवारी दिएको छ। सोहीबमोजिम इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको पनि विज्ञप्तिमा जनाइएको छ।