सरकारले गठबन्धनभित्रै विश्वास जगाउन सकिरहेको छैन: विश्वप्रकाश शर्मा

सत्तारुढ दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको टिप्पणी गरेका छन्।

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको टिप्पणी गरेका छन्। ललितपुरको गोदावरीमा जारी पार्टी महासमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै महामन्त्री शर्माले नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न सरकार पछि परेको बताएका हुन्।

सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको दिशामा केही गर्न प्रयास गरे पनि संघीयताको मर्मअनुरूप प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्त्वपूर्ण कानून निर्माणमा गर्नै नहुने ढिलाइ गर्नु संघीय सरकारको एकदमै ठूलो कमजोरी रहेको महामन्त्री शर्माको भनाइ थियो।

“नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आबद्ध पार्टीका साथीहरूमा भरपर्दो विश्वास जगाउन सरकारले सकिरहेको छैन। संघीयताको मर्मअनुरूप प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्त्वपूर्ण कानून निर्माणमा गर्नै नहुने ढिलाइ संघीय सरकारबाट भएको छ। यो एकदमै कमजोरी हो,” उनले भने।

उनले प्रदेश सरकार र स्थानीय सरकारको कामको गति र प्रभावकारिता बढाउने गरी संघीयतासम्बन्धी कानूनको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

महामन्त्री शर्माले वर्तमान सरकारको सफलता कांग्रेसको छविसँग पनि जोडिएको उल्ले‍ख गर्दै सरकारले गरेका राम्रा कामको जस लिन नसक्ने, तर अपजसहरूको भारी बोक्नुपर्ने? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टी पंक्तिमा देखिएको बताए। उनले केही कांग्रेसबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन सन्तोषजनक नरहेको पनि बताए।

“पूरै पाँच वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ। तर अर्कोतर्फ नागरिकको अपेक्षा अनुरूप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। कांग्रेसका केही मन्त्रीको कार्य सम्पादन सन्तोषजनक निश्चय नै छ। तर केही मन्त्रीको भूमिका मन्त्रीको रूपमा प्रभावकारी बिलकुलै देखिएको छैन,” उनले भने।

जनताको अपेक्षाअनुसार काम गर्न पनि पार्टीका तर्फबाट तीन वटै तहको सरकारमा सहभागी प्रतिनिधिलाई सचेत गराए। “प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू एवं स्थानीय तहका हाम्रा नेतृत्वको कार्य सम्पादन प्रभावकारिताको समीक्षा प्रदेश कार्य समितिमार्फत अलग्गै गर्नुपर्ने छँदैछ। तर महासमितिको यो बैठक सबै तहको सरकारका रहेका पार्टी प्रतिनिधिलाई जनअपेक्षाको कसीमा खरो ढंगले उत्रने गरी कार्य क्षमता र गति बढाउन निर्देशित गर्दछ,” उनले भने।