निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सेना परिचालनको अनुमति दिएकी छन्।

तस्वीर : राष्ट्रपतिको कार्यालय

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्नका लागि स्वीकृति दिएकी हुन्।



मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार ४ मंसिरमा हुने निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीले अनुमति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।



निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को भदौ १७ गते बसेको बैठकले सरकारलाई सिफारिस गरेको थियो। सरकारले स्वतन्त्र, निष्पक्ष एवं भयरहित सम्पन्न गर्न 'एकीकृत सुरक्षा कार्य योजना २०७९' बनाएको छ।



राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसअनुसार भदौ २७ गतेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई पत्र लेखेका थिए।



सरकारको सिफारिसका आधारमा 'मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान' गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।



मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा हुँदै छ।