बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो। तटबन्ध निर्माणपछि मालढुंगाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने छन्।

ढोरपाटन– बागलुङ नगरपालिका–१ स्थित मालढुंगा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी  छ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ७० लाख रुपैयाँबाट मालढुंगा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए। कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्षयता कटान तीव्र हुँदै आएको छ। अघिल्लो वर्ष पनि ६५ लाख रुपैयाँ लागतमा केही क्षेत्रमा तटबन्ध गरिएको थियो। लक्ष्मीनारायण मन्दिरसँगै मालढुंगाबाट खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इन्जिनियर पौडेलले बताए। गत पुसदेखि निर्माण समिति गठन गरी तटबन्धको काम धमाधम भइरहेको छ। 

कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो। तटबन्ध निर्माणपछि मालढुंगाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने इन्जिनियर पौडेलले बताए। 

“बर्खामा कालीगण्डकी उर्लेर आउँदा बस्तीमा बस्ने जोखिम बढेको थियो। अघिल्लो वर्ष केही भागमा काम भयो भने अहिले पनि करिब ४५ मिटर लामो तटबन्ध निर्माण हुन्छ,” उनले भने, “जसका लागि निर्माण समिति गठन भएर काम शुरू भएको छ। हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ। असार मसान्तसम्म सम्पूर्ण काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिइएको छ।”

तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानीमुनि दुई मिटर पक्की पर्खाल उठाउने काम भइसकेको र अहिले त्यसमाथि ग्याबिनसहितको पर्खाल उठाइरहेको बताए। बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर बन्दै गएको र तटबन्ध बनेपछि यहाँका धेरै घर सुरक्षित हुने उनको दाबी छ।

“तटबन्धको कामलाई तीव्र बनाएका छौँ। पर्खाल उठाएर ढलान गर्ने काम भइरहेको छ। सम्झौताअनुसार आठ मिटर उचाइ, ४५ मिटर लम्बाइ हुनेछ, सोअनुसार काम गरिरहेका छौँ,” अध्यक्ष खड्काले भने।