एन्फा बैठकको निर्णयमा केन्द्रीय सदस्य अनिल मल्लको असन्तुष्टि

मल्लले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकको निर्णय नम्बर ४ र ५ मा असन्तुष्टि जनाएका छन्।

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य अनिल मल्लले कार्यसमिति बैठकमा गरिएका निर्णयमा असन्तुष्टि जनाएका छन्।

मल्लले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकको निर्णय नम्बर ४ र ५ मा असन्तुष्टि जनाएका हुन्।

बैठकको निर्णय नम्बर ४ मा संघको आर्थिक नियमावली र कार्यविधि कार्यसमितिको परिमार्जनको सुझावसहितको प्रस्ताव, नियमित साधारणसभामा निर्णयार्थ पेस गर्ने उल्लेख छ। यस्तै, निर्णय नम्बर ५ मा संघको २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन पारित गरी नियमित साधारणसभामा निर्णायार्थ पेस गर्ने उल्लेख छ।

"आउँदो साधारणसभामा अनुमोदनका लागि बसेको संघको कार्यसमिति बैठकमा एजेन्डा नं. ४ मा परिमार्जनसहित संशोधन गरी पेस गर्ने भनी निर्णय भएको हुनाले, संशोधन गरिएको विषय कार्यसमितिमा प्रष्ट पारिनुपर्ने साथै एजेन्डा नं. ५ मा रहेको विषय २०७९/०८० को लेखा परीक्षण प्रतिवेदनका सम्बन्धमा, छलफलकै क्रममा रहेको तर निर्णय नभइसकेको अवस्थामा, उपरोक्त ४ र ५ नम्बर एजेन्डामा संवेदनशील भई कार्यसमितिको निर्णयपश्चात् मात्रै साधारण सदस्यमा जानकारी गराइयोस् भनी सादर अनुरोध गर्दछु," पत्रमा भनिएको छ।

यसैगरी मल्लले  निर्णय नै नभएको अजेन्डालाई निर्णय भएको भनिएको र अन्य अजेन्डमा छलफल नै नभएकोमा ध्यानाकर्षण गराएका छन्। "कार्यसमिति बैठकमा निर्णय नभएको ४, ५ अजेन्डालाई निर्णय भयो भनी प्रेस विज्ञप्ति प्रकाशित गरिएको र कार्यसमितिमा दर्ता भएका अन्य तमाम अजेन्डालाई पेन्डिङमा राखिएको विषयसमेतमा दुःख व्यक्त गर्दछु," पत्रमा भनिएको छ।