गाजामा तत्काल युद्धविरामको मागसम्बन्धी प्रस्तावमा अमेरिकाको भिटो

अमेरिकाको यस कदमको चौतर्फी विरोध भएको छ। चीनले पनि अमेरिकाको यस कदमले विश्वव्यापी रूपमा गलत सन्देश प्रवाह हुने टिप्पणी गरेको छ।

संयुक्त राष्ट्रसंघमा पेस गरिएको गाजामा ‘तत्काल युद्धविराम’ गर्ने प्रस्तावमाथि संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ।

अल्जेरियाले अघि सारेको प्रस्तावले युद्ध अन्त्य गर्न 'वार्तालाई खतरामा पार्नसक्ने' अमेरिकाले जनाएको छ।अमेरिकाको यस कदमको चौतर्फी निन्दा भएको छ। अमेरिकी सहयोगीहरूले पनि वास्तविक युद्धविराम प्रस्तावलाई व्हाइट हाउसले अवरुद्ध पारेको भन्दै खेद व्यक्त गरेका छन्। चीनले पनि अमेरिकाको यस कदमले विश्वव्यापी रूपमा गलत सन्देश प्रवाह हुने टिप्पणी गरेको छ।

अमेरिकाले ‘अस्थायी युद्धविराम’को लागि अपील गर्ने आफ्नै प्रस्ताव ल्याएपछि भिटो गरेको थियो। अमेरिकाले आफ्नै प्रस्तावमा इजरायललाई रफाह शहरमा आक्रमण नगर्न चेतावनी दिएको छ। इजरायलले रफाहमा प्रवेश गर्ने कुरा गरेको छ र हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न मार्च १० सम्मको समय दिएको छ।

१५ सदस्यीय सुरक्षा परिषद्‍मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका थिए भने बेलायतले मतदान प्रक्रियामा भाग लिएन।

उक्त प्रस्तावलाई भिटो गर्दै संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले भने, "हमास र इजरायलबीच वार्ता अझै चलिरहेको छ र त्यसैले तत्काल युद्धविरामको लागि आह्वान गर्ने यो उपयुक्त समय होइन।"

अमेरिकाले ल्याएको प्रस्तावमा ‘जतिसक्दो चाँडो’ अस्थायी युद्धविराम लागू गर्ने र इजरायली बन्धकहरूलाई रिहा गर्ने शर्त राखिएको छ। साथै गाजामा सहायता पुग्ने सबै प्रतिबन्ध हटाउन पनि भनिएको छ। तर सुरक्षा परिषदले अमेरिकाको प्रस्तावमा मतदान गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन।

संयुक्त राज्य अमेरिकाले यसअघि पनि संयुक्त राष्ट्रसंघको युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेको थियो।