कांग्रेस महासमिति बैठकमा पहिचानको आन्दोलनको विषय उठान

कोशी प्रदेशका जिल्ला सभापतिहरूले त्यहाँ भएको पहिचानको आन्दोलनको विषयबारे उठान गरेका छन्।   

काठमाडाैँ– नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरूले त्यहाँ भएको पहिचानको आन्दोलनको विषयबारे उठान गरेका छन्।

कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे। “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ। कार्यक्रमसमेत गर्न सकिएको छैन,” उनले भने।

कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो।

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषयको कुरा उठान गरे। “आफ्नो मान्छे परे गठबन्धन ठीक, नपरे बेठीक भन्ने परिपाटीको कहिले अन्त्य हुन्छ?,” उनले प्रश्न गरे। कोशीमा कांग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई उनले प्रश्न गरे।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताए। पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उनको माग थियो।