गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले पेस गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो। 

गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसंघले प्रस्तुत गरेको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ। 

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले अरब राष्ट्रको तर्फबाट पेस गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो।

अमेरिकाको यस कदमको आलोचना भएको छ। अरब लिगका महासचिव अहमद अबोल घिटले बुधबार गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गरेका छन्।

गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरू भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रो पटक हो।

अमेरिकी स्थितिले अन्तर्राष्ट्रिय प्रणालीको विश्वसनीयतालाई कमजोर बनाएको अरब लिगले जनाएको छ। अबोल घिटले गाजामा इजरायली आक्रमणलाई लम्ब्याउनका लागि अमेरिकाको राजनीतिक र नैतिक जिम्मेवार रहेको दाबी गरेका छन्।

अल्जेरियाको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ मध्ये १३ सदस्यको समर्थन थियो।