जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि बेसारखेती

इलामको रोङ गाउँपालिकाका किसान बेसारको व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने व्यवस्था मिलाइएको छ।

मंगलबारे– बाँदरलगायत जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि इलामको रोङ गाउँपालिकाका किसानले बेसारखेती थालेका छन्।

गाउँपालिकाले पनि बेसार उत्पादन र प्रवर्द्धन गर्ने नीति लिएको छ। स्थानीय सहकारीमार्फत बेसारको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए।

इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा ८४० किलो बेसार उपलब्ध गराइएको छ। स्थानीय शान्तकुमारी लाप्चाले एक किलो बीउबाट १६ किलोग्राम बेसार उत्पादन गरेको बताइन्।

“बेसार रोपेर फाइदा भइरहेको छ,” उनले भनिन्। गाउँपालिकाले सबै ६ वटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष्य लिएको छ।

गाउँपालिका र जिल्लाबाहिर बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोले बताए।

उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्नेछ। किसानबाट प्रतिकिलो ४० का दरले काँचो बेसार खरिद गर्ने बताइएको छ। गाउँपालिकाले कपुरबोट जातको बेसार किसानलाई वितरण गरेको छ।